PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

निर्मलादेखि निहारिकासम्म जो समाजबाट पीडित बनिरहन्छन्, कानुन र कार्यान्वयन पक्ष फितलो हुँदा उक्लिँदो महिला हिंसाको ग्राफ



भावना शर्मा

निर्मलादेखि निहारिकासम्म जो समाजबाट पीडित बनिरहन्छन्, कानुन र कार्यान्वयन पक्ष फितलो हुँदा उक्लिँदो महिला हिंसाको ग्राफ

काठमाडौं:  साउन २७ गते राष्ट्रपति भवन शीतल निवास अगाडि समयमै प्रहरी नपुगेकी भए निहारिका राजपुतले आत्मदाह गर्ने थिइन्। उनलाई आत्मदाह गर्नबाट प्रहरीले बचायो। निहारिकाले शरीरमा मट्टीतेल छर्किएर आगो लगाउन खोजेकी थिइन्। त्यसपछि उनलाई प्रहरीले उपचारको लागि अस्पताल पुर्‍यायो।

धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र त्यसपछि गर्भ बसेर बच्चा जन्मिएकोले न्याय नपाएको भन्दै पटकपटक आन्दोलन गर्दै आएकी छिन्। यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस पिएर अनसन तोडिन् । तर जुन आश्वासन पाएर उनले अनसन तोडेकी थिइन् त्यो पूरा नहुने देखेपछि उनले आत्मदाहको प्रयास गरिन्, जसमा उनको आत्मसम्मान र बच्चाको भविष्य जोडिएको छ। उनको आवाज राज्यले सुनेको छैन। फेरि पनि उनी न्याय माग्दै हिँडिरहेकी छिन्।

निहारिका एक प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय महिलामाथि हुने अपराधको ग्राफ ह्वातै बढेर गएको छ। अघिल्लो वर्षको तीन महिनासँग तुलना गर्दा गएको तीन महिनामा महिला तथा बालबालिकामाथि हुने अपराध १२.२८ प्रतिशतले बढेको देखिन्छ। गएको तीन महिना बैशाख, जेठ र असारमा देशभर १ हजार २३४ वटा महिला तथा बालबालिकासम्बन्धी अपराधहरु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले जानकारी दिए। गत वर्षको सोही अवधिमा देशभर १ हजार ९९ वटा महिला तथा बालबालिका सम्बन्धी अपराधहरु दर्ता भएका थिए।

यी त प्रहरीसम्म पुगेका अपराधका घटनाहरु हुन्। महिला तथा बालबालिकासम्बन्धी हुने कतिपय अपराधहरु त बाहिरसमेत आउने गरेका छैनन्। सामाजिक डर, अशिक्षा लगायतका कारणले पनि कतिपय महिला तथा बालबालिकाले आफूमाथि भएको हिंसा वा अपराधबारे बोल्न चाहँदैनन्। त्यस्तै कतिपय घटनामा प्रहरीले उजुरीसमेत लिने गरेको छैन। जसको पछिल्लो उदाहरण निर्मला प्रकरणसँग जोडिएका एक पात्र पनि हुन्।

चार वर्ष भइसक्यो १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको। तर पनि अझै प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन। प्रहरी महानिरीक्षकदेखि प्रहरीको ब्युरो, प्रदेश र जिल्लाको प्राथमिकतामा पर्दा पनि हत्यारा यो हो भन्न सक्ने अवस्था छैन। निर्मला प्रकरणमा अहिले पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको दाबी गरिरहेको छ तर अपराधी पत्ता लगाउन सकेको छैन।

प्रहरीले शंकाको घेरामा राखेर विभिन्न मानिसमाथि अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीको क्लोज वाचमा रहेका व्यक्ति हुन् ४४ वर्षीय दिलीपसिंह विष्ट। विष्टलाई प्रहरीले यसअघि घटनाको अभियुक्त भएको भन्दै २०७५ भदौ ४ गते सार्वजनिक गरेको थियो। तर, चर्को विरोध र डीएनए नमिलेपछि उनी रिहा भएका थिए। त्यपछि डीएनए परीक्षणमा समेत प्रश्न जन्मिएपछि विष्ट अन्य कारणले पनि प्रहरीको निगरानीमा नै छन्।

केहीदिन अघि तिनै बिष्टविरुद्ध प्रहरीमा पुनः उजुरी दिने प्रयास भएको भएको थियो। निर्मला पन्तको घटनामा साइकल भेटिएको ठाउँ नजिकैको सडक छेउमा अर्की एक किशोरीलाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा पुगेको थियो। तर, प्रहरीले उजुरी नै लिन नमानेको पीडित किशोरीका परिवारको भनाइ छ। साउन १२ गते कक्षा ११ पढ्ने एक किशोरीलाई हात समातेर तानेको तर किशोरी फूत्किएर घर पुगी आफन्तलाई सुनाएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी लिएर पुगेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरी पनि घटना बारे जानकार देखिए। तर, उजुरी नै नलिने कारण भने उनले खुलाएनन्।

‘अनुसन्धान चलिरहेको छ। बुझिरहेका छौँ,’ एसपी चौधरीले भने। तर, प्रहरीले दिलीपसिंह विरुद्धको उजुरी निर्मला प्रकरणसँग जोडेर मात्र हेरिरहेको छ। अर्को किशोरीलाई दुर्व्यवहार गरेको उजुरी आउँदा पनि प्रहरीले अनुसन्धान गर्ने हिम्मत देखाएको छैन।

जबर्जस्ती करणीदेखि बाल यौनदुराचारसम्म

प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबरजस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार, घरेलु हिंसा लगायतका अपराधहरू बढिरहेको छ। महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह, घरेलु हिंसालगायतका घटना बढेको देखिएको छ।

गएको तीन महिनामा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुबिबाह, बोक्सीको आरोप, अवैध गर्भपतन, बालयौन दुराचारजस्ता घटना बढेर गएको देखिन्छ। जबरजस्ती करणीको घटना तीन महिनामा ११ प्रतिशतले बढेको छ। तीन महिनामा ७ सय ४ वटा यसप्रकारका करणीका घटना भएका छन्। जबकी गएको वर्षको सोही अवधिमा ६ सय ३२ वटा घटना दर्ता भएका छन्। त्यस्तै करणी उद्योगमा ०.६ प्रतिशतले बढेर गएको छ। तीन महिनामा १ सय ६६ वटा जबरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ। जबरजस्ती करणी र उद्योगका घटना गाउँ वा शिक्षाको कमी रहेको भनिएका ठाउँमा मात्र होइन शहर र शिक्षित समाजमा समेत बढ्दै गएको छ। शिक्षकले विद्यार्थीमाथि गर्ने दुर्व्यवहार तथा परिवारभित्रैका अपराध र हिंसाका घटना पनि बढ्दो छ।

आर्थिक वर्ष २०७७/७८ मा यस्ता अपराधका घटना प्रहरीमा १८ प्रतिशतभन्दा बढी रेकर्ड  भयो। यस शीर्षकमा २ हजार ५३४ वटा घटना दर्ता भएका थिए जबकी अघिल्लो आर्थिक वर्षमा २ हजार १४४ वटा घटना दर्ता भएका थिए। २ हजार ५३४ वटा घटनामा २ हजार ८१५ जना प्रतिवादीमध्ये ९ प्रतिशत अर्थात् २ सय ७८९ जना हाडनाता सम्बन्धका थिए। त्यस्तै, छिमेकी ३० प्रतिशत अर्थात् ८६८ रहेका छन्। जबरजस्ती करणीका घटनामा पीडित १० वर्ष उमेर समूहका ११ प्रतिशत, ११ देखि १८ उमेरमा ५३ प्रतिशत र ६० वर्ष माथिका १ दशमलव ४८ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार १६७ वटा बलात्कार घटना भए जसमा १ हजर ३ सय ९३ वटा घटनामा बालिका नै सिकार भएको देखिन्छ। महिलाको संख्या भने ७७१ छ। १० वर्षमुनि बलात्कृत हुनेको संख्या २७३ रहेको छ। ११ देखि १६ उमेर समूहमा ८०१ जना रहेको प्रहरीको तथ्यांकले देखाउँछ। यस्तै १७ र १८ वर्ष उमेर समूहमा ३१९ जना रहेका छन्।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार २५४ वटा बलात्कारका घटना भएका थिए। जसमा बालिकाको संख्या १ हजार ४२० वटा थियो।  धेरैजसो बलात्कारको घटनामा आफन्त र चिनेजानेका बाट नै हुने गरेको देखिएको छ। बलात्कारपछि घटना खुल्ने डरमा हत्या गर्नेसम्मका केस देखिएका छन्।

'आफूले गरेको अपराध बाहिर आउने डरले यस्ता घटनामा हत्यासमेत हुनेगर्छ। धेरै जसो बलत्कारका घटना चिनेजानेकाबाट नै भएको देखिन्छ,' पूर्व डीआइजी हेमन्त मल्लले भने।

बलात्कार र हिंसाका यी तस्बिर त केवल प्रहरीकहाँ दर्ता भएका केसमात्र हुन्। त्यसबाहेक प्रहरीकहाँ नै नपुगेका घटनाहरु पनि धेरै छन्। आफन्त र परिवाजनले यस्तो विषयलाई लुकाउने परम्परा नै छ। जसले सही आकारमा हिंसाको संख्या यति नै हो भनेर किटान गर्न सकिने अवस्था छैन।

महिलामाथि हुने हिंसा घटेन

आर्थिक वर्ष २०७७/ ७८ मा बोक्सीको आरोपमा ६१ जना महिलालाई यातना दिइएको देखिन्छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ८० प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७६/ ७७ मा ३४ वटामात्र बोक्सीसम्बन्धी घटना प्रहरीमा दर्ता भएका थिए। गएको तीन महिनामा हेर्दा झन् यस्ता घटना ४२ प्रतिशतले बढेर गएको छ। तीन महिनामा देशभर १० वटा बोक्सीसम्बन्धी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा तीन महिनामा ७ वटामात्र घटना दर्ता भएका थिए। यस्ता घटनाबाट शिक्षित समाज ठहरिएको शहर समेत अछुतो छैन।

गएको भदौमा काठमाडौंको स्वयम्भूमा नै यस्तो घटना सार्वजनिक भयो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पीडित महिलाका श्रीमानसहित चार जनालाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा जनार्दन पाण्डे, दशनारायण महर्जन, दिपेन्द्र कुमार थिङ र जितेन्द्र महर्जन छन्। उनीहरुले भदौ २० गते स्वयम्भूस्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै कुटपिट गरेका थिए।

महिलाका श्रीमानले ललितपुरबाट शरीरमा देखिएको समस्या समधान गर्न भन्दै स्वयम्भूस्थित दिपेन्द्रकुमार थिङकोमा पुर्‍याएका थिए। थिङ झारफुक गर्ने व्यक्ति हुन्। उनले महिलाको शरीरमा बोक्सी लागेको र कुटपिट गरेपछि हट्ने बताएपछि कुटपिट गरेका थिए। उनीहरु तीनै जनाले मिलेर कुटपिट गरेको उजुरी प्रहरीकहाँ परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यस्तै, बहुविवाहका घटना पनि तीन महिनामा २१ प्रतिशले बढेर गएको छ। तीन महिनामा १८४ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा बहुविवाहका १५१ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए। त्यस्तै बाल यौन दुराचारका घटना पनि ३६.९ प्रतिशतले बढेर गएको छ। तीन महिनामा देशभर ११५ वटा मुद्दा दर्ता भएका छन्।

अघिल्लो आर्थिक वर्षमा बाल यौन दुराचारका घटना पनि २० प्रतिशतले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा २७९ वटा घटना बालयौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएका थिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २३२ वटा घटना दर्ता भएका थिए। यस्ता घटनामा विदेशी नागरिकहरूको संलग्नता देखिएको छ।

महिला तथा बालबालिकामाथि हुने सबैभन्दा धेरै अपराध घरेलु हिंसा नै हो। धेरैजसो घरेलु हिंसाका घटना त प्रहरीकहाँ पुग्नै पाउँदैन। हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित पक्ष प्रहरी कहाँ पुग्ने गरेको देखिन्छ। अशिक्षा, अज्ञानता र कानुनी सेवामा सहज पहुँच नहुँदा यस्ता घटना घरभित्र नै सीमित हुने गरेको छ। तीन महिनाको अवधिमा यस्ता अपराध ५३.५१ प्रतिशतले बढेर गएको छ। गएको महिना बैशाख, जेठ र असारमा ४ हजार ३६९ वटा महिला हिंसाका घटना दर्ता भएका छन्। जबकी अघिल्लो वर्षको तीन महिनामा २ हजार ८४६ वटा मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०७७/७८ मा १४ हजार २३२ वटा घरेलु हिंसाका घटना प्रहरीको फाइलमा रेकर्ड भएका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतभन्दा बढी हो। आर्थिक वर्ष २०७६/७७ मा ११ हजार ७ सय ३८ वटा घटना प्रहरीमा दर्ता भएको थियो। गएको तीन महिनामा बालबिबाह, जातीय छुवाछुत, अप्राकृतिक मैथुन र तेजाब प्रहारका घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ। 

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई  सहयोग गर्छौ?

केही महिनाअघि एक किशोरीले आठ वर्षअघि आफू १६ वर्षकी हुँदा बलात्कारमा परेको घटना बाहिर ल्याएपछि यसले हाम्रो कानुन बाटोलाई उदाङ्गो बनायो। हदम्यादको विषयलाई लिएर पिडकले उन्मुक्ति पाउने देखियो। केही समय कानुन कार्यान्वयन गर्ने प्रहरी प्रशासन समेत अल्मलियो। तर चर्को दबावले सबै तह तात्यो। अन्ततः ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे समातिए। जिल्ला अदालतले पूर्पक्षको लागि उनलाई थुनामा समेत पठायो। कानुन संशोधनको बाटो समेत खुल्यो। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले हदम्याद बढाउन प्रस्ताव गरेर पठायो।

घरेलु हिंसाको कारण महिला तथा बालबालिका आत्महत्याकै अवस्थासम्म पुगेका धेरै उदाहरण छन्। निहारिकाकै अवस्थालाई हेर्दा पनि उनले लामो समय न्यायका लागि याचना गर्दा पनि सुनुवाई नभएपछि आत्मदाहको निर्णय लिन पुगेको देखिन्छ। आफूमाथि अपराध भएको छ भन्दै न्यायका लागि राज्यसँग सहायता माग्न सक्ने साहस भएकी निहारिका त समय घर्किँदै गएपछि निराश हुन पुग्छिन् भने डर त्रास र हिंसाका कारण बिक्षिप्त भएका कैयन् महिना तथा बालबालिकाहरुको अवस्था कस्तो हुन सक्छ? सहजै अनुमान गर्न सकिन्छ। यस्ता घटनाहरुमा राज्यले संवेदनशील भएर अघि तत्काल पहलका लागि अग्रसर नहुने भने पीडितहरुको अवस्था अझ गम्भीर बन्दै जान्छ। अपराधको श्रृंखलाहरु थपिँदै जाने तर न्यायप्रतिको आस भने मर्दै जाने अवस्था आउन सक्छ। त्यसैले महिला तथा बालबालिकामाथि भएका अपराध र हिंसाका घटनाहरुमा अपराधीलाई तत्काल कानुनको कठघरामा उभ्याउन राज्यका सबै संयन्त्रलाई अत्यन्तै प्रभावकारी र चुस्त बनाउनै पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell