
काठमाडौं : स्थानीय तहको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को चुनावी मोर्चा निर्वाचन आयोगमा दर्ता भएको छ।
मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) दर्ता भएको छ। २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनलाई सक्रिय रुपमा बहिस्कार गरेको क्रान्तिकारी माओवादीले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भने उपयोग गरेको थियो।
क्रान्तिकारी माओवादीले त्यतिबेला नेता सिपी गजुरेलको नेतृत्वमा देजमो दर्ता गराएर निर्वाचनमा सहभागी भएको थियो।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको भएपनि पार्टी भने निर्वाचन उपयोग वा बहिष्कारको विषयमा अनिर्णित छ।
‘निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्ने कार्यनीतिको प्रश्न हो। हामी मिटिङ छिट्टै बस्छौँ। केन्द्रीय कमिटीको बैठक छिट्टै बस्दैछ। त्यसले निष्कर्ष निकाल्छ,’ पार्टीका प्रवक्ता इन्द्रमोहन सिग्देलले भने।
यता देजमोका अध्यक्ष गजुरेल भने निर्वाचनसम्बन्धी उपयोग वा बहिष्कार दुवै सम्भावना रहेको बताए। उनले निर्वाचन आयोगमा दल अध्यावधिक गर्दैमा निर्वाचनमा सहभागी हुनै पर्ने बाध्यता नभएको बताउँछन्।
‘अध्यावधिक गर्दैमा उपयोग नै गर्नुपर्छ भन्ने छैन। हामी बहिष्कार पनि गर्न सक्छौँ। यस विषयमा निर्णय नै भएको छैन। बैठक बसेर के गर्ने भन्ने निर्णय गर्छौँ,’ उनले भने।
उनले दुवै सम्भावना रहेको कारण दल दर्ता गरेको बताए। ‘हामीले यस विषयमा निर्णय गरिसकेका छैनौँ। निर्णय नहुँदासम्म दुवै सम्भावनाहरु जीवित रहने नै भए’, अध्यक्ष गजुरेलले भने, ‘निर्वाचन बहिष्कार गर्ने भन्ने निर्णय पनि भइसकेको छैन। उपयोग गर्ने भन्ने पनि भइसकेको छैन। त्यसैले दुवै सम्भावनालाई हेरेर दल दर्ता गराइराखेका हौँ।’
यही सम्भावनालाई मध्यनजर गर्दै देजमो प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ६९ औँ नम्बरमा दर्ता भएको छ।
बहिष्कारका लागि दबाब
स्थानीय तह निर्वाचन बहिष्कार गरेको पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पनि बहिष्कार गर्नुपर्ने दबाब पार्टीभित्र बढिरहेको एक नेताले बताए।
‘बैशाखमा मात्र सम्पन्न चुनाव हामीले बहिष्कार गर्यौँ। यो बहिष्कार पुष्टि गर्नका लागि पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पनि बहिष्कार गर्नुपर्छ भन्ने मत बढी छ’, ती नेताले भने, ‘पार्टीभित्र यस विषयमा केन्द्रीय कमिटीको बैठकले छलफलसहित निर्णय गर्ला। तर, सम्भावना बहिष्कारकै छ।’
ती नेताले नेकपा (बहुमत)सँगको पार्टी एकताको विषयमा छलफल चलिरहेको अवस्थामा निर्वाचन बहिष्कार गर्ने नीति प्रमुख हुने बताए। नेकपा बहुमत नेत्र विक्रम चन्द ‘विप्लव’को पार्टी फुटाएर धर्मेन्द्र बास्तोला र हेमन्द प्रकाश वलीले गठन गरेका हुन्। स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार गर्ने विषयमा विवाद भएपछि पार्टी विभाजन सम्म पुगेको थियो।
बहुमत र क्रान्तिकारी माओवादीबीच पार्टी एकता गर्न एकता संयोजन समिति बनिसकेको छ। ‘अधिकांश कामरेडहरुको धारण बहिष्कार गर्नुपर्ने भन्ने नै छ। केन्द्रीय कमिटीको बैठकमा महासचिव (किरण)ले यस विषयमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आउला’, ती नेताले भने, ‘प्रतिवेदनमा बहिष्कारको नीति आउने सम्भावना बढी नै छ।’