![बाढीका कारण पाकिस्तानमा ५८० भन्दा बढीको मृत्यु, १० लाख मानिस प्रभावित](https://pahilopost.com/assets/upload/contentthumb/Pak-Flood.jpg)
मुसलधारे वर्षापछि आएको बाढी र पहिरोका कारण पाकिस्तानमा ५८० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ मानिसहरुले आफ्नो घरबार गुमाएको द गार्डियनले उल्लेख गरेको छ।
गत जुलाईदेखि भारी वर्षा, आकस्मिक बाढी र पहिरोबाट पाकिस्तानमा करिब १० लाख प्रभावित भएका छन्। पाकिस्तानमा तीन हप्ताभित्रै मनसुन वर्षाको ६० प्रतिशतभन्दा बढी पानी परेको बताइएको छ।
शुक्रवारसम्म पाकिस्तानभर भारी वर्षा हुने अनुमान भइरहँदा बलोचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन्। पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीमा लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण मंगलवार एक जनाको मृत्यु भएको छ।
जुलाईदेखि भारी वर्षाका कारण कराचीमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।
पाकिस्तानको ठूलो र गरिब प्रान्त बलोचिस्तानमा करिब २०० जनाको ज्यान गएको छ। सो प्रान्तले ३० वर्षदेखि यताकै सबैभन्दा खराब बाढीको सामना गरिरहेको बताइएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सो प्रान्तमा वार्षिक औसतभन्दा ३०५ प्रतिशत बढी वर्षा भएको जनाएको छ।
बलोचिस्तानका २६ जिल्लामध्ये १८ लाई प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले ‘विपतग्रस्त’ घोषित गरेको छ। प्रदेशभर बाली तथा गाईवस्तु बगाएको छ भने मानिसहरु घर छाड्न बाध्य भएका छन्। सयौँ किलोमिटर सडकमा क्षति पुगेका कारण सो क्षेत्रहरूमा आपतकालीन सेवाहरू पुग्न नसकेको बताइएको छ।
५७० भन्दा बढी विद्यालयहरू ध्वस्त भएका छन् भने हैजाका केसहरू देखिन थालेका छन्।