
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी चयन टुंगोमा पुगेको छ। प्रवक्ता कृष्णबहादुर महराले बिस्तृत छलफलपछि टुंगोमा पुगिएको र अन्तिम टुंगो बिहीवार बिहान ८ बजे लाग्ने बताए। 'केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी चुनिने विषयहरुबारे छलफल भयो। यी सबै विषयमा बिस्तृत छलफल भएको छ। करिब करिब टुंगोमा पुगेका छौ भोलि बिहान ८ बजे अन्तिम टुंगो लाग्छ,' महराले भने।
माओवादी केन्द्रको २०७८ पुसमा महाधिवेशन भएको थियो। अपूर्ण केन्द्रीय कमिटी बनाएर महाधिवेशन सम्पन्न भएको थियो। पहिलो केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्नबाहेक माओवादीले पदाधिकारी छान्न सकेको छैन। असार २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो भने पोलिटब्यूरो गठन भएको थियो।
प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि वैकल्पिक सदस्यको व्यवस्था गरिएको थियो। स्थायी कमिटी र पदाधिकारी चयनको लागि आफूलाई केही सयम दिने प्रचण्डले माग गरेका थिए। त्यसयता पनि पटकपटक माओवादी केन्द्रका बैठकहरु बसे पनि पदाधिकारी चयन भने हुन सकेको छैन।
स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्र पार्टीको अपूर्ण संरचनामै होमिएको थियो। अहिले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा पदाधिकारी टुंगोमा पुगेको महराले बताएका छन्।