
काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठकले शनिवार भागबण्डाको खाका प्रस्तुत गर्ने तयारी गरेको छ। बुधवार बालुवाटारमा बसेको कार्यदलको बैठकमा टिकट बाँडफाँटको खाका प्रस्तुत गर्ने तय भएको भए पनि समझदारी नजुटेपछि समयसीमा भदौ ४ गतेसम्मका लागि सारिएको हो।
गठबन्धन दलहरुको बिचमा के विषयलाई आधार मानेर सिट बाँड्ने भन्नेबारेमा सहमति नै नभएको कार्यदलका सदस्यहरुले बताएका छन्। 'आज खाका प्रस्तुत भएन। संख्यामा हामी प्रवेश नै गरको छैन। जुन दलले जति सिटको आकांक्षा राखेका छन् त्यसको आधार तयार हुनुपर्यो,' कार्यदलका एक सदस्यले भने।
२०७४ को प्रतिनिधि सभा र २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार मान्ने मोटामोटी सहमति भए पनि दलहरुको अहिलेको अवस्थालाई लिएर गठबन्धनका बिचमा विवाद छ। आउने शनिवारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले खाका प्रस्तुत गर्ने तयारी छ। तर, त्यसअघि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यदलको तयारी छ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि गठबन्धनले टिकटको विषय मिलाउन साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले साउन २३,२६,२९ र भदौ १ गरी चारपटक बैठक बसे पनि बाँडफाँट टुंगोमा भने पुगेको छैन।
यसअघि स्थानीय तह निर्वाचनमा पनि गठबन्धनले महानगर र उपमहानगरमा भागबण्डा गरेको थियो। बाँकी स्थानीय तहको जिम्मेवारी भने सम्बन्धित कमिटीलाई दिएको थियो। हाल गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका लागि पार्टी गठन भए यता पहिलो प्रतिनिधि सभाको निर्वाचन हो। गठबन्धनमा नेतहरुले २०७४ मा एमालेले जितेका ठाउँमा भागबण्डा गरेर बाँकी ठाउँ सम्बन्धित दललाई नै दिनुपर्ने प्रस्ताव गरेका थिए। तर,उक्त प्रस्तावमा सहमति जुटन सकेन।
गठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिट बाँडनुपर्ने छ। माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटीको बैठकमा माओवादीका नेतहरुले ६० सिट गठबन्धनसँग माग्नुपर्ने बताएका थिए।