
काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगर्न आग्र गरेका छन्। महामन्त्री थापाले एक मार्फत अवरोध नगरी संवाद र समीक्षामार्फत समाधान निकाल्न आग्रह गरेका हुन्।
उनले भने, ‘काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।’
कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको भएको भन्दै उनले सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको बताए। उक्त सम्झौता पूरा गर्ने जिम्मा सरकारको भएको र सरकारलाई दबाब दिने जिम्मेवारी आफूहरुको भएको उनको भनाइ थियो।
‘निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हन्छ- हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौँ,’ उनले भने।
काङ्ग्रेसको तर्फबाट स्थानीय तहको नेतृत्वलाई अवरोधमा संलग्न नहुन भनिसकिएको उनले बताए।
उनले भने, ‘पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।’
उनले अगाडि भनेका छन्, ‘सम्झौता कार्यान्वयनमा कहाँ-कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।’
काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ।अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ।अतःसिसडोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपीलगर्न चाहन्छु कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ,समाधान निकालौँ। pic.twitter.com/LWiccmYArr
— Gagan Thapa (@thapagk) August 17, 2022