PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कैलालीमा बढ्न थाले रुघाखोकी र ज्वरोका बिरामी, लक्षण कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो



रासस

कैलालीमा बढ्न थाले रुघाखोकी र ज्वरोका बिरामी, लक्षण कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो

कैलाली : कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ। जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन्।

टीकापुरका अरविन्द विकको परिवारमा सबैलाई ज्वरो देखिएको बताए। 'सबै परिवारलाई बिरामले च्याप्यो, सबैले सामान्य रुघाखोकी र ज्वरोको औषधि सेवन गर्‍यौँ, विद्यालय जाने बच्चालाई एक साता विद्यालय पठाएनौँ', विकले भने, 'अहिले हामी ताजा खानकुरा, सफा उमालेको पानी खाने, गर्मी र धुलोमा नहिँड्ने जस्ता कुरामा सचेत छौँ।'

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा आजभोलि बिरामी दोब्बरले बढेका छन्। स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका र बिरामी भएर आउनेमा परिवारका पूरै सदस्य बिरामी भएकासमेत धेरै रहेका सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताउँछन्। 'विगतका वर्ष यो सिजनमा दैनिक ३५ जनासम्म बिरामी आउनुहुन्थ्यो, यस वर्ष दैनिक ६० जनासम्म बिरामी हेरिरहेका छौँ', शाह भन्छन् , 'बिरामी एकै घरका बालबच्चादेखि वृद्धसम्म बिरामी भएर आउनुभएको छ।'

मनिकापुर सहरी स्वास्थ केन्द्रमा पनि आजभोलि बिरामी बढेका छन्। स्वास्थ्यकर्मी कविता खड्का विगतका तुलनामा बिरामी बढी आएका, बिरामीमा कोभिडका लक्षण धेरै मिल्ने गरेका बताउँछन्। 'बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दा लक्षण छन्, बिरामी अधिकांशमा लक्षण मिल्दा छन्', खड्का भन्छन्, 'तर खोप लगाइसकेका छौँ भनेर मानिस ढुक्क छन्। हामीले बिरामीलाई स्वास्थ्य स्याहार गर्न सल्लाह दिइरहेका छौँ।'

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउँछन्। 'स्वास्थ्य संस्थामा विगतभन्दा दोब्बर बिरामी बढेका छन्। उपचारमा आउने सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन्', उनले भने, 'यस्ता बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, सामान्य ज्वरो औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन सुझाइरहेका छौँ।'

धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका धनसिंहपुर स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए। 'बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्', उनले भने।

टीकापुर अस्पतालका डाक्टर संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरत ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र र केही स्क्रब टाइफसका लक्षण भएका र स्क्रब टाइफस देखिने बिरामी आउने गरेका बताउछन्। 'बिरामी बढेका छन्, बच्चादेखि वृद्धसम्मलाई देखिएका समस्या उस्तैउस्तै छन्', डाक्टर खरेल भन्छन्, 'कोभिडको शङ्का पनि गर्नुपर्छ। लापर्बाही गर्न हुँदैन।'

डाक्टर खरेल यस्ता खाले समस्या भएका बिरामीका लक्षण कोभिडसँग समेत मिल्ने खालका देखिएकाले खोप लगाइसकेका छौँ भनेर लापर्बाही नगर्न, अनिवार्य मास्क लगाउने, नआत्तिने, खानपानमा ध्यान दिन सल्लाह दिन्छन्। कोभिडको जोखिम बढेपछि कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न, शङ्का लागेमा कोभिड परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell