PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पार्टी महासचिव तोक्ने तयारीमा प्रचण्ड, हरिबोल कि देव गुरुङ?



पहिलोपोस्ट

पार्टी महासचिव तोक्ने तयारीमा प्रचण्ड, हरिबोल कि देव गुरुङ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको महासचिव तोक्ने तयारी गरेका छन्। महाधिवेशनको सात महिनापछि माओवादीले पदाधिकारी चयन गर्न लागेको हो।

बुधवार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिहीवार बिहान ८ बजे नै पदाधिकारीको टुंगो लाग्ने बताएका थिए। 'केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी चुनिने विषयहरुबारे छलफल भयो। यी सबै विषयमा बिस्तृत छलफल भएको छ। करिब करिब टुंगोमा पुगेका छौ भोलि बिहान ८ बजे अन्तिम टुंगो लाग्छ,' बैठकपछि महराले भनेका थिए। यसका लागि अहिले ९ बजेका लागि पेरिसडाँडामा बैठक तय गरिएको छ। यद्यपि गठबन्धनको बैठक १० बजेबाट शुरु हुने भएकाले माओवादीको बैठक केही ढिला हुन सक्ने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।

माओवादी केन्द्रको २०७८ पुसमा महाधिवेशन भएको थियो। त्यतिबेला केन्द्रीय कमिटी अपूर्णै छाडेर महाधिवेशन सकिएको थियो। पहिलो केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्नबाहेक माओवादीले पदाधिकारी छान्न सकेको छैन। असार २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो भने पोलिटब्यूरो गठन भएको थियो।

जनार्दन र वर्षमानको सम्भावना के?

माओवादीमा अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक महासचिव बन्ने चर्चा थियो। तर दुई नेताले एकले अर्कोलाई निषेध गर्ने नीति आँगलेपछि पछिल्लोपटक प्रचण्डले हरिबोल गजुरेललाई महासचिव बनाउने चर्चा चलेको थियो।

केही दिन यता भने पार्टीको तर्फबाट संसदमा प्रमुख सचेतकसमेत रहेका देवप्रसाद गुरुङलाई महासचिव बनाउने तयारीमा प्रचण्ड लागेको बताइएको छ। एमाले प्रवेश गरेका रामबहादुर थापा 'बादल'को समूहबाट बलिया नेतासमेत रहेका गुरुङलाई महासचिव दिएमा पार्टीमा विवाद नआउने नेताहरुको आँकलन रहेको छ। पछिल्लोपटक गुरुङलाई प्रचण्डले विभिन्न महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन्। जसले गर्दा गुरुङ महासचिवका बलिया दाबेदार भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell