
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले आएर धेरै बिग्रेको बताएका छन्। रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्।
रामवृक्षको समयमा जस्तो अहिले माओवादी पार्टी नरहेको उनको भनाई थियो। 'जतिबेला हामी कमरेड रामवृक्ष यादवलाई सम्झेर उहाँलाई श्रद्धा र सम्मान प्रकट गर्दैछौ। यतिबेला हामी हाम्रो पार्टी त्यस्तो छैन। त्यतिबेला पार्टी त सानो थियो। हामी त्याग र बलिदानबाट ओतप्रोत थियौ,' प्रचण्डले भने, 'देशमा धेरै परिवर्तन आयो। हाम्रो साथीहरुको त्याग सम्झँदा अहिले हाम्रो पार्टी त्यस्तो छैन। हामी धेरै नै बिग्रेको छ। रामवृक्ष यादवको फोटो अगाडि उभिएर बोल्दा हामी अलि बिग्रेकै छौ भन्नेबाट नै शुरु गर्नुपर्छ। हामी हिजोजस्तो क्रान्तिकारी छैनौ। हामी व्यक्तिवादी भएका छौं। स्वार्थी भएका छौं। आज अलि व्यक्तिवादी हुन थालेका छौ। हामी सामूहिक भन्दा स्वार्थ समूह बनाउनतिर उद्धत हुन थालेका छौं।'
पछिल्लो महाधिवेशनले पार्टीको क्रान्तिकारी सिद्धान्तलाई समाउन खोजेको समेत उनले बताए। 'यसले पार्टीको वर्गचरित्रमा नराम्रोसँग स्खलन आएको छ। हामीले भर्खरै महाधिवेशन सकाएर फेरि पनि क्रान्तिकारी पार्टी बनाउने भनेर लागेका छौ। कुरामा हामी क्रान्तिकारी छौ। व्यवहारमा त्यो मिल्दैन,' प्रचण्डले भने, 'भनाई र गराईमा धेरै अन्तर आइसकेको महसुस हुन्छ। यो अन्तरविरोधलाई हल गर्न निकै ठुलो आवश्यकता छ। हल गर्न नसकिए क्रान्तिकारी हो भनेर हिँड्नुको औचित्य समाप्त हुन्छ।'
यति भन्दै गर्दा माओवादी विचार र सिद्धान्तमा माओवादी नै नम्बर वान पार्टी रहेको उनको दाबी रह्यो।