PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विमानस्थलको ‘मिस एप्रोच’ एरियामा पर्ने सराङकोट, के विस्थापित होला पोखराबाट प्याराग्लाइडिङ ?



रिना थापा

विमानस्थलको ‘मिस एप्रोच’ एरियामा पर्ने सराङकोट, के विस्थापित होला पोखराबाट प्याराग्लाइडिङ ?

पोखरा : पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा नयाँ आयाम ल्याउने आशा जगाएको छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले। प्रदेशकै पर्यटनमा आशा जगाइरहँदा पर्यटकीय नगरी पोखरालाई विमानस्थलले उत्साही नबनाउने कुरै रहेन।

तर, यतिबेला उत्साही भन्दा बढी सुर्तामा छन् पोखरेली पर्यटन व्यवसायी। पर्यटन क्षेत्रमा नयाँ उत्साह ल्याउँछ भन्ने आशा राखिएको विमानस्थल नै पोखराको चमक बनेको प्याराग्लाइडिङ विस्थापनाको कारण बन्छ कि भन्नेमा चिन्तित पनि छन् व्यवसायी।

विमानस्थल संचालनको मिति नजिकिँदै छ। यता, पोखराको पर्यटनको मेरुदण्ड बनेको प्याराग्लाइडिङको भविष्य भने अन्योलमा छ।  

एअर स्पेसभित्रको क्षेत्रमा पर्छ सराङकोटको डाँडा। जहाँदेखि दैनिक सयौँको संख्यामा पर्यटकले फेवाताल माथिको खुल्ला आकाशमा कावा खाँदै प्याराग्लाइडिङ र अल्ट्रालाइटको मज्जा लिन्छन्। तर, विमानस्थलको एअर स्पेसमा पर्ने यस क्षेत्रमा अन्य हवाई गतिविधि गर्न मिल्दैन। जसकारण पनि प्याराग्लाइडिङ विस्थापित हुने चिन्तामा छन् पर्यटन व्यवसायी।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीका अनुसार एअर स्पेसमा पर्ने क्षेत्रमा अन्य कुनै पनि हवाई गतिविधि गर्न मिल्दैन। सराङकोट, तोरीपानी क्षेत्र ‘मिस एप्रोच’ क्षेत्रमा पर्छन्। प्याराग्लाइडिङ उडान भइरहेको क्षेत्र मिस एप्रोच पाथमा परेका कारण पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने आशंका छ। प्याराग्लाइडिङको विकल्प खोज्नुपर्ने उड्डयनका विज्ञहरुका धारणा छ।

२५ वर्षदेखि पोखराको आकाशमा पर्यटक उडाएर प्याराग्लाइडिङलाई पर्याय बनाइसकेको पोखरा भने पोखराभित्र नै विकल्प खोज्न चाहन्छ। हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल बहादुर भट्टराई विमानस्थल र प्याराग्लाइडिङलाई सँगसँगै लैजानुपर्ने बताउँछन्। प्याराग्लाइडिङका लागि अन्य स्थानलाई विकल्पको रुपमा राख्न मिले पनि पोखरा जत्तिको राम्रो स्थान अन्त नभएको बताउँछन् उनी।

‘पोखरा बाहेक अन्त विकल्प नहुने होइन। तर, पोखराको आकाशमा उडेको यत्रो २५ वर्ष भयो। यस्तो ठूलो संस्थालाई एक्कासी अन्य ठाउँमा ‘लैजा’भन्दा यसले इफेक्ट पार्छ। पोखराको पर्यटनमा टेवा पुर्‍याएको छ। मौसमका कारण पनि वर्षदिन नै उड्न मिल्ने वातावरण छ सुविधाका हिसाबले पनि सहज छ। प्राकृतिक र पर्यटनको हिसाबले यो पोखरामा नै भयो भने एकदम राम्रो हुन्छ,’ उनले भने।

भट्टराईले भने जस्तै प्याराग्लाइडिङलाई एक्कासी अन्य स्थानमा सारियो भने यसले पोखराको पर्यटनलाई असर पार्ने भने पक्का छ। पोखरामा पर्यटकलाई आर्कषण गरिरहेको प्याराग्लाइडिङ क्षेत्रमा हाल ३७५ जना दक्ष पाइलट छन्। यस्तै, ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् अहिले पोखरामा।

त्यसैले पनि उनको भनाइ छ : पोखराबाट प्याराग्लाइडिङलाई विस्थापित गर्न हुँदैन। अन्य स्थानमा प्याराग्लाइडिङ संचालनमा ल्याए पनि यसको सुरुवाती जरा नै फाल्न नहुने बताउँछन् उनी।

‘यहीँ व्यवस्थित गर्नुपर्छ। यसलाई अरु ठाउँमा पनि विकास गर्दै लाने तर मेन जरा नै यहाँ बाट निकाल्न हुँदैन भन्ने हाम्रो कुरा हो। तुरुन्त पोखरामा नै बन्द गरेर अरु ठाउँमा सर्ने तयारी र योजना छैन,’ उनले भने।

अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको पर्यटन थप उकास्न सम्भावना बोकेको हुनाले प्याराग्लाइडिङलाई पनि सँगसँगै लैजानुपर्ने विचार राख्छन् उनी। यसका लागि आवश्यक अध्ययन र छलफल भए उपाय निस्किनेमा आशावादी सुनिन्छन्।

‘विमानस्थल पोखरेली जनताहरुले आन्दोलन गरेर डिमान्ड गरेर ल्याएको योजना हो। हामी कुनै पनि व्यवसायी पोखरामा विमानस्थल चल्नुहुन्न भन्ने पक्षमा छैनौँ। यो चल्नपर्छ। तर, सँगसँगै प्याराग्लाइडिङलाई पनि कसरी लैजान सकिन्छ त्यो विधि प्रविधिहरु अध्ययन गरौँ छलफल गरौं। विज्ञहरु ल्याउँ। कुनैकुनै उपाय निस्केला नि,’ भट्टराईले सुनाए।

पोखरा महानगरभित्रको क्षेत्रमा विमानस्थलको एअर स्पेस लम्बाई २६ किलोमिटर छ भने चौडाइ ६ किलोमिटर। प्याराग्लाइडिङ भइरहेको स्थान एअर स्पेस भित्र नै पर्छ। एअर स्पेस क्षेत्रभित्र नै अन्य हवाई गतिविधि गर्न सुरक्षा हिसाबले पनि जोखिम हुनसक्छ।

विमानस्थलमा उडान र अवतरण दुवै पूर्वबाट गर्ने हुँदा यता प्याराग्लाइडिङलाई विकल्प हुने तर्क पनि राखेका छन् उनले। उनको यो तर्कसँग अन्य पर्यटन व्यवसायी पनि सहमत छन्। प्याराग्लाइडिङका गतिविधि सबै पश्चिममा हुन्छ। त्यसैले पनि यसकुराले केही समाधान निस्किन्छ कि भन्नेमा आशावादी छन् पर्यटन व्यवसायी।

‘सम्भावना के छ भने यसको उडान र अवतरण दुवै पूर्वबाटै गर्ने हो। तर, हाम्रो प्याराग्लाइडिङ गतिविधि चाहिँ पश्चिमबाट छ। उत्तर-पूर्व तिर छौं भनौँ न। त्यता उड्ने रुट नै होइन। कहिलेकाहीँ मिस एप्रोच हुन्छ नि त्यसको लागि मात्र प्रोटेक्सन जोन भनेर यो क्षेत्र हो,’ उनले भने, ‘यहीँ आकाशबाट सिधैँ अवतरण गर्ने होइन, उडान गर्ने होइन। त्यो भनेको एकदम दुर्लभ हो। तर, सम्भावना त छ तर त्यो हिसाबले उहाँहरुले एअर स्पेस खाली गर्नुपर्छ भन्ने कुरा हो।’

भट्टराईले भने जस्तै सो क्षेत्र सम्भावित समस्याका लागि खाली राखिरहनुपर्छ। अर्थात कहिलेकाहीँ प्राविधिक वा एअर ट्राफिकिङ्गका कारण अवतरणमा समस्या भयो भने जहाज आकाशमा नै पुनः उड्नुपर्ने हुन्छ। त्यस्तो समस्या आउँदा जहाजले प्रयोग गर्ने क्षेत्रमा पर्छ सराङकोट हुँदै तोरीपानीको डाँडा।

भट्टराईले भने जस्तै मिस एप्रोचको लागि मात्र त्यो रुट भने प्रयोग नहुने भनाइ राख्छन् यता विमानस्थल प्रमुख मुनकर्मी। उनका अनुसार सो क्षेत्र अन्तर्राष्ट्रिय जहाजका लागि मिस एप्रोच परे पनि आन्तरिक उडानका लागि एप्रोच रुटपर्छ। यस्तै पूर्वबाट उडान र अवतरण गर्ने भनाइ पनि गलत रहेको मुनकर्मी बताउँछन्।

‘मिस एप्रोचमा परेको पाथमा परेको छ भने पश्चिमबाट अवतरण गर्दा एप्रोज पाथमा पर्छ। त्यस्तो एप्रोज एरियामा कुनैपनि हवाई गतिविधी गर्न मिल्दैन। पूर्वबाट आउने जहाज पश्चिमबाट नै रोक्ने हो भन्ने कुरा पनि सुनिन्छ तर त्यस्तो होइन। पूर्वबाट पनि उडान हुन्छ। विभिन्न कारणले गर्दा जहाज अवतरण गर्न नसक्ने क्रममा फेरि उड्नपर्ने हुन्छ त्यो क्रममा त्यस्तो एरिया हुनुपर्छ। जहाँ कुनै अन्य हवाई गतिविधी गर्न मिल्दैन,’ मुनकर्मीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell