आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ बक्सअफिसमा फ्लप साबित भएको छ। गत बिहिवार प्रदर्शन भएको यस फिल्मले एकसातामा ५० करोड भारतीय रूपैयाँको व्यापार गरेको छ।
‘लालसिंह चड्डा’ फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो। चारवर्षपछि आमिरले यसै फिल्ममार्फत कमब्याक गरेका हुन्। जसकारण यस फिल्मबाट निकै आशा गरिएको थियो। तर, यस फिल्मले अपेक्षाअनुसार व्यापार भने गर्न सकिरहेको छैन।
फिल्मले रिलिजको पहिलो बक्सअफिसमा दिन ११ देखि १२ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। त्यसैगरी, दोस्रो दिन शुक्रवार ७.२६, तेस्रो दिन शनिवार ९ करोड, चौथो दिन आइतवार १० करोड र पाँचौ दिन सोमवार ७.६ करोड कलेक्सन रहेको छ।
यो फिल्म रक्षाबन्धनको अवसरमा बिदाको दिन रिलिज भएको थियो। लगतै, शनिवार, आइतवार र सोमवार स्वतन्त्रता दिवसको दिन भएकाले बिदाको अवसरमा फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो। तर, कलेक्सन निराशाजनक नै रह्यो।
त्यसैगरी, लालसिंह चड्डाले प्रदर्शनको छैटो दिन ३ करोड र सातौँ दिन १.५ देखि २ करोड भारतीय रूपैयाँ कलेक्सन गर्न सफल रह्यो। अद्वेत चन्दनद्वारा निर्देशित यो फिल्म १८० करोड बजेटमा निर्माण भएको हो। एक साताको कलेक्सन हेर्न हो भने फिल्मले बजेट समेत उठाउन नसकेको अवस्था छ।
यस फिल्ममा आमिरसँगै करिना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपाण्डे र अजित अन्धेरेको लगानी रहेको छ।
यस्ता छन् फ्लप हुनुका कारण
भारतीय व्यापार विज्ञ तथा समीक्षकहरूले फिल्म फ्लप हुनुको विभिन्न कारणहरू रहेको बताएका छन्। हलिउड फिल्म ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक भएकाले पनि फिल्म नचलेको उनीहरूको अनुमान छ।
फिल्मले व्यापार गर्न नसक्नुको अर्को कारण विरोध पनि हो। आमिरले सन् २०१५ मा असहिष्णुताको मुद्दामा बयान दिँदै भारत छोड्ने कुरा गरेका थिए। रिलिज अघि उनको यो पुरानो भनाई जोडिएर सामाजिक सञ्जालमा बहिष्कार अभियान चलेको थियो। जसको प्रत्यक्ष असर व्यापारमा परेको हो।
भारतीय समीक्षक तरण आदर्शले फिल्मको कथा कमजोर हुँदा बलिउड फिल्म फ्लप भइरहेको बताएका छन्। दर्शकले नराम्रो फिल्मलाई थिएटर र डिजिटल प्याल्टफर्ममा नहेर्ने उनले बताएका छन्। निर्माताहरूले राम्रो कन्टेन्टमा जोड दिनसके मात्रै बलिउडको भविष्य रहेको उनको भनाइ छ।