काठमाडौं : नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नेमकिपाले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा नेमकिपाका नेता कार्यकर्ताका साथै कलेजका विद्यार्थीहरुको पनि सहभागिता थियो। प्रदर्शनकारीहरुले ‘देशघाती नागरिकता विधेयक खारेज गर’, ‘देशभक्त जनता एक हौँ’ लगायतका नारा लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए।
पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः पेश भएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो।
राष्ट्रपतिबाट विधेयकमा समेटिएको नागरिकता लिन आमाले गर्नुपर्ने स्वघोषणाको विषयमा पुनर्विचार गर्न स्पष्ट रुपमा उल्लेख छ। अन्य विषय भने सैद्धान्तिक रुपमा उठाइएका छन्।