PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

शून्य समयमा उठ्यो नागरिकतादेखि फोहोरको कुरा, संसदमा कसले के भने ?  



पहिलोपोस्ट

शून्य समयमा उठ्यो नागरिकतादेखि फोहोरको कुरा, संसदमा कसले के भने ?  

काठमाडौं : प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सरकारले काठमाडौंसहित देशभरका शहरमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिइन्। साथै, फोहोरका कारण नेपालका मुख्य शहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइन्।

यस्तै, सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइन्। र, फोहोर व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र संघ सबै जुट्नुपर्ने बताइन्।

सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरि सम्मानजनक तरिकाले पठाउनुपर्ने माग गरिन्। सांसद कृष्णगोपाल श्रेष्ठले भने नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएको बताए। अब विधेयकको विषयमा गम्भीर छलफल गर्नुपर्ने उनले सुझाव दिए।

सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताए। उनले विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए।

सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति जानकारी दिँदै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।

यस्तै, सांसद जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराएका थिए। सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell