PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

संसद बैठकमा भीम रावलको कविता, सत्तापक्षलाई प्रश्नैप्रश्नको चटारो : राजतन्त्र किन फालेको? पाँच अमिर प्रणाली राखे हुन्न?



पहिलोपोस्ट

संसद बैठकमा भीम रावलको कविता, सत्तापक्षलाई प्रश्नैप्रश्नको चटारो : राजतन्त्र किन फालेको? पाँच अमिर प्रणाली राखे हुन्न?

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट पुन:विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक माथि छलफल चलिरहेको छ। छलफलका क्रममा एमाले नेता तथा सांसद भीम रावलले कविताबाट सम्बोधन सुरु गर्दै प्रश्नै प्रश्नले झटारो पस्किए। 

'देशको हाल के भनुँ यहाँ गोलमाल र बेहाल छ
नागरिकता जस्तो सस्तो छ सारै स्वाधिनता दाउमा छ' 

उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताको रक्षा गर्ने राष्ट्रपतिको कर्तव्यसमेत भएको बताए। उनले यसअघि केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग एकैठाउँमा यसलाई राखेर हेर्नु राजनीतिगत, संविधानगत रुपमा पनि उचित नभएको बताए। 

उनले नागरिकता गैरकानुनी रुपमा पाएकाहरु माथि छानविन पनि गर्न माग गरे। 'नागरिकता नपाउने को हुन्? कतिले पाएका छैनन्? र कतिले नेपालको नागरिकता गैरकानुनी रुपमा पाएका छन्?' उनले प्रश्न गरे, 'त्यसको छानबिन गरियोस्। अनि बल्ल थाहा हुन्छ कतिले पाएका छैनन् भनेर?'

उनले 'भारत, बंगलादेश, भुटानलगायतका देशमा जस्तै नेपालीसँग बिहे गर्ने महिलाले राजनीतिक अधिकारबाहेका स्थायी आवासीय पत्र प्राप्त गर्ने र सात वर्षपछि अंगीकृत नागरिकता प्राप्त गर्नुपर्थ्यो भन्ने कसरी गलत हुन्छ?' भन्दै प्रश्न समेत गरे। 

'यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरासायी पार्ने मनसायबाट प्रेरित तर्क हो त्यो,' उनको आरोप थियो, 'वास्तविक नेपालीले नागरिकता पाउनु र विदेशीलाई नागरिकता पाउने ढोका खुलै नछाड्ने प्रावधान नेपालको राष्ट्रिय हितमा छैन र?'

उनले नागरिकता जस्तो संवेदनशील विषयमा संशोधन प्रस्ताव हाल्दा राष्ट्रपतिले पुन: विचार गर्न पठाउँदा खेरी संसदीय समितिमा छलफल गर्नै तयार नहुने भन्दै प्रश्न गरे, 'यस्तै हो त लोकतन्त्रको अभ्यास? यही नै हो त राष्ट्रियता प्रतिको संवेदनशीलता?' 

उनले संविधान निर्माण गर्दा पाँच वर्ष देखि सात वर्षसम्म नेपाली नागरिकसँग विहे गरेर आउने विदेशी महिलाको लागि अवधि तोक्ने कुरामा सहमति भएको दाबी पनि गरे।

'त्यो बेला संविधान जारी गर्ने जुन प्रतिकुल स्थिती थियो त्यो प्रतिकुलतालाई ध्यानमा राखेर पछि हाम्रो बहुमत भइहाल्छ। पछि राख्ने भनेको होइन्?,' उनले भने, 'र त्यो प्रतिबद्धताबाट पछि हटेर। संसदीय दलमा पनि छलफल छैन।  पार्टीमा पनि छलफल छैन। बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन संविधानको कुन धारा अन्तर्गतको हो? त्यसले त्यहाँबाट जे फैसला गर्‍यो त्यो संविधान भन्दा माथि हुन्छ? यदी त्यस्तै हो भने किन राजतन्त्र समाप्त गरेको त? पाँच दलीय अमिर छन नी त कतिपय देशमा त्यस्तो अमिर प्रणाली गरे हुन्न? यो मिल्दैन यस्तो। राष्ट्रियताको संवेदनशील विषयमा यस्तो गर्न मिल्दैन।'   

उनले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्वलाई समाप्त पार्ने कुरा देश भक्त नेपालीलाई किमार्थ मान्य नहुने बताए। 'यसको विरुद्ध देशभक्त नेपालीहरुले आवाज उठाउनुपर्छ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell