
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुनका लागि विभिन्न मापदण्ड तोकेको छ। बुधवार बसेको बैठकले उम्मेदवार छनोटका ८ मापदण्ड बनाएको हो।
मंसिर ४ गते हुने चुनावका लागि सत्तारुढ दल एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि मापदण्ड बनाएको छ। सत्ता गठबन्धनले टिकट बाँडफाँटका लागि कार्यदल बनाएर सहमतिका लागि गृहकार्य गरिरहेका बेला एकीकृत समाजवादीले आफ्ना पार्टीका तर्फबाट उम्मेदवार हुनेहरुका लागि मापदण्ड तय गरेको हो।
बुधवारको सचिवलय बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकताका लागि एकता समन्वय समिति गठन गर्ने पनि समझदारी बनाएको थियो। चुनाव पहिलै पनि माओवादीसँग एकता हुन सक्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन्।
के-के छन् मापदण्ड?
पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको मापदण्ड उम्मेदवार हुनेले पूरा गर्नुपर्नेछ।
पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति हुनुपर्ने मापदण्डमा उल्लेख छ। कार्यक्षमता राम्रो भएको र सक्रिय, समावेशीताको सिद्धान्त विपरित नहुने पनि उम्मेदवारका लागि मापदण्ड छ।
कसरी छानिन्छन् उम्मेदवार?
प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्ने प्रक्रिया एकीकृत समाजवादीले बनाएको छ।
'जिल्ला कमिटीले उक्त चारजनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने,' एकीकृत समाजवादीको निर्णयमा भनिएको छ।
प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको धारणासहित केन्द्रलाई सिफारिस गर्नुपर्नेछ। केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निणर्य गर्ने मापदण्ड छ।
प्रदेशसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ। जिल्ला कमिटीले उक्त चारजनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नेछ।
प्रदेश कमिटीले उक्त तीनजनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउनुपर्ने व्यवस्था एकीकृत समाजवादीमा छ। केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका तिनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निणर्य हुने पार्टीको निर्णयमा उल्लेख छ।
भदौ २० गते सम्म उम्मेदवार छानिसक्ने
प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्नेछ।
जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने, प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र निणर्य गरिसक्ने एकीकृत समाजवादीले बताएको छ।