PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जनशक्ति अभाव झेलेका उद्योगलाई सहयोग पुर्‍याउन बुटवलमा रोजगार सूचना केन्द्र स्थापना



पहिलोपोस्ट

जनशक्ति अभाव झेलेका उद्योगलाई सहयोग पुर्‍याउन बुटवलमा रोजगार सूचना केन्द्र स्थापना

बुटवल : उद्योगलाई आवश्यक जनशक्तिको पहिचान गरी माग र आपूर्तिको तालमेल गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना भएको छ। रूपन्देही उद्योग संघको सहकार्यमा स्थापना गरिएको सूचना केन्द्रको बिहीवार लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे।

देशका दक्ष युवा जनशक्ति पलायन रोक्नको लागि सीप र क्षमता युवामा विस्तार गर्न जरुरी रहेको मन्त्री शाहीले बताए। त्यसको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम र योजनाहरू अगाडि सारेको जानकारी समेत दिए। देशको श्रम शक्तिको समुचित परिचालनको अभावमा लाखौँ युवा विदेशी भूमिमा पसिना बगाउन बाध्य भएको उनले बताए।

रोजगार केन्द्रले बेरोजगार जनशक्तिको लागत संकलन गरी रोजगारी गर्न इच्छुक व्यक्तिलाई सीप तथा क्षमता अभिवृद्धिका लागि आवश्यकता अनुसार तालिम विकास कार्यक्रम सञ्चालन गर्ने रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए।

‘जनशक्तिको अभाव झेलेका उद्योग व्यवसायलाई सहयोग पुर्‍याउने कामदार नियमित आपूर्तिको व्यवस्था मिलाउन केन्द्रले काम गर्नेछ,’ उनले भने।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवी अर्यालले दक्ष जनशक्तिको पलायन रोक्नको लागि उद्योगको वातावरण बनाउन तीन तहकै सरकार एक भएर काम गर्नुपर्नेमा जोड दिइन्। नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष तथा संघका अध्यक्ष परिषद्का संयोजक एजाज आलमले रोजगार सूचना केन्द्रको स्थापना भएकोमा खुशी व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell