काठमाडौं : सत्तारुढ नेपाली काङ्ग्रेसका नेता डा मिनेन्द्र प्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताविहीन, मुलुकविहीन बनाउने अधिकार नभएको बताएका हुन्।
नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताए। नेता रिजालले संसद्को कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको पनि स्पष्ट पारे।
नेता रिजालले भने, ‘नागरिकता विधेयक ढुंगाको अक्षर होइन। पछि अरु चिज पनि थप्न सकिन्छ। त्यो गरौँला। तर, आज यही बहानामा लाखौँ नेपालीलाई नागरिकताविहीन बनाउने, मुलुकविहीन बनाउने षड्यन्त्र गर्ने अधिकार हामीलाई छैन। कुनै व्यक्तिलाई पनि अधिकार छैन। कुनै पनि सम्मानित पदमा बसेको व्यक्तिहोस् त्यो अधिकार छैन।’
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरुले हाल आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताए।
नेता रिजालले एक थरी अनुहारकाले अर्को थरी अनुहारकाको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताए।