PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?



पहिलोपोस्ट

कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?

आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ।

कृष्ण मन्दिरमा शिवलिंग

पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरको शिलान्यास नेपाल सम्बत ७५० मा भएको थियो। सो मन्दिर एउटै पहाडको ढुंगाले बनाइएको कथन छ। त्यसबेला पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। मल्लले खासमा सो स्थानमा कृष्ण मन्दिर बनाउन लागेका थिएनन्।

कृष्ण मन्दिरका पुजारी विष्णुधर राजोपाध्यायका अनुसार सिद्धिनरसिंह मल्लले त्यहाँ मन्दिर बनाएर शिवको मूर्ति स्थापना गर्न लागेका थिए। त्यसैकालागि शिलान्यास गरेर शिवको मन्दिर बनाउन थालिएको थियो।

तर, मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको बेला ने सं ५५७  राजाले त्यहाँ कृष्णको मूर्ति स्थापना गर्ने निधो गरे। कारण थियो राजालाई आएको सपना।

राजाको सपनामा भगवान कृष्ण आएर राजालाई आफू उनको दरबारको बगैँचामा पुरिएको र आफूलाई निकालेर अहिले बनाएको मन्दिरमा स्थापना गर्न भन्छन्। यस्तै आफ्नो शिरमाथि भगवान शिवको मूर्ति राख्न सपनामा कृष्णले मल्ल राजालाई आह्वान गर्छन्। फलस्वरुप सिद्धिनरसिंहले दरबारका गुरु, पुरोहित र राजजोशीसँग सपनाका बारेमा छलफल गर्छन्।

बिहानै सपना आएकोले त्यो सत्य हुने भन्दै गुरुहरुले राजालाई बिन्ती गरे। यससँगै बगैचामा उत्खनन् गरेपछि कृष्णको मूर्ति भेटियो। मूर्ति फेला परेपछि राजाले सपनामा भनेझै पहिलो तल्लामा कृष्णको मूर्ति स्थापना गर्ने निर्णय गरे। नेसं ५५७ मा कोतिहोम गरेर पहिलो तल्लामा कृष्णसहित रुकमणी र सत्यभामा र दोस्रो तल्लामा शिवको मूर्ति स्थापना गरिएको थियो।

कसरी भित्रिइन् राधा?

२०७२ सालको भूकम्प पछि भने कृष्ण मन्दिरमा राधा पनि भित्रिइन्। भूकम्पपछि जीर्ण बनेको कृष्ण मन्दिरको पुनर्निर्माणको काम चलिरहेका कारण मन्दिरमा भक्तजनहरुलाई प्रवेश गर्न दिइएको थिएन। कृष्ण अष्टमीका दिन पनि मन्दिरमाथि भक्तजनहरुलाई दर्शनका लागि पठाउने अवस्था थिएन। तर, पूजा त गर्नै पर्यो । त्यसैले सो साल मन्दिर बाहिर नै कृष्ण जनमाष्टमी मनाइएको थियो।

तर, कृष्णको मूर्ति त्यसरी सार्वजनिक रुपमा प्रदर्शन गर्न हुँदैन थियो। त्यसैले बजारबाट कृष्णको मूर्ति किनेर ल्याइयो। कृष्णको मूर्तिसँगै थिइन् राधा। पाटनमा कृष्णसँगै राधाको पूजा गरिएको त्यो पहिलो पटक थियो।

त्यसअघि सो मन्दिरमा कृष्णको दायाँ बायाँ रुक्मिणी र सत्यभामाको मूर्ति रहेको थियो। राधाको मूर्ति भूकम्पभन्दा अघि कृष्ण मन्दिरमा थिएन।

कृष्ण जन्माष्टमीको अवसरमा पुन: प्रकाशित गरिएको। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell