PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना



पहिलोपोस्ट

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

आज जारी शुभकामना सन्देशमा उनले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख गरेकी छिन्।

‘सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ’, राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ।’

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

आज एक सन्देश जारी गर्दै उनले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

‘गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भइ मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रुपले स्मरण गरिन्छ’, सन्देशमा भनिएको छ।

समस्त हिन्दूधर्मावलम्वीका भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उनले उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell