PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुहानासँग 'कृष्ण संवाद' : भागवत गीताले मन र मस्तिष्कलाई स्थिर बनाउन सिकायो



लक्ष्मी बलायर

सुहानासँग 'कृष्ण संवाद' : भागवत गीताले मन र मस्तिष्कलाई स्थिर बनाउन सिकायो
तस्विर : सुहानाको इन्स्टाग्रम अकाउन्ट

भगवान् श्री कृष्णप्रति अभिनेत्री सुहाना थापाको विश्वास अडिग छ। भौतिक संसारमा संघर्ष गर्दै आध्यात्मिक संसार चिन्न उनले ‘हरे कृष्ण’लाई आफ्नो मन्त्र नै बनाएकी छिन्। आध्यात्मिक ज्ञानलाई व्यवहारमा उतार्दा उनले आफू भित्रको क्रोध, अहंकार, लोभ, वासना, भ्रमलाई बुझ्ने र त्यसलाई जित्ने प्रयत्न गरिरहेकी छिन्।

कृष्णप्रति सुहानाको मोह सुरु भएको धेरै भएको छैन। पाँच वर्ष भयो उनले ‘हरे कृष्ण’ भन्न थालेको। आमा झरना थापासँगै उनी बूढानीलकण्ठस्थित स्कोन पगेकी थिइन् त्यतिबेला। मन्दिरमा झरनालाई कृष्णको माला र मन्त्र दिइयो। त्यही माला र मन्त्र झरनाले छोरी सुहानालाई दिइन् र जप गर्न भनिन्। त्यसपछि नै हो सुहानाले कृष्णसँग नजिक हुन थालेको। भौतिक र आधयात्मिक चिन्तन प्रति उनको चेत बढेको।

त्यसपछि कृष्णबारे बुझ्न उनले भागवत् गीता पढिन्, गुरुसँग शिक्षा लिइन्। जसबाट उनमा थप कृष्णप्रति रुचि जाग्यो।

‘पहिले पनि भागवत गीता पढ्ने कोसिस गरेकी थिएँ। तर केही बुझिन। तर मन्त्रको प्रभाव पर्ने रहेछ। एउटा भाइब्रेसन हुँदो रहेछ जुन एउटा मेडिटेसन(ध्यान) सरह हुन्छ। त्यो जप गर्न थाले त्यसपछि नै कृष्णलाई अपनाएकी हुँ। उहाँ निकै क्युट पनि हुनुहुन्छ’ सुहानाले सुनाइन।

सुहानाले भागवत गीतामा लेखिएको केही हरफको व्याख्या गर्दै भनिन् : हाम्रो मस्तिष्क र मन चन्चल हुन्छ। यदि चन्चलतालाई स्थिर राखेर अगाडि बढ्यौँ भने त्यो तिम्रो साथी हुन्छ। तर, त्यसको गुलाम भयौ भने त्यो तिम्रो दुश्मन। यिनै वाणीलाई आफूले व्यक्तिगत रूपमा लागू गरेको सुहानाको दाबी छ।

 ‘यो वाणीलाई मैले निकै मानेकी छु। वैज्ञानिक हिसाबले पनि पहिलो यात्रा मस्तिष्कबाट सुरु हुन्छ भन्छन्। त्यस्तै आध्यामिक हिसाबले पनि मस्तिष्क,बुद्धि विवेक मनबाट सुरु हुन्छ भन्छन्। त्यसलाई स्थिर राखेर साथी बनाउनुपर्छ भन्ने लाग्छ।’

सुहानालाई लाग्छ : कृष्णले सबैलाई समान दृष्टिले हेर्छन्। त्यसैले आफू पनि कृष्ण जस्तै बन्ने प्रयासमा रहेको सुहाना बताउँछिन्।

‘उहाँले भन्नुहुन्छ तिमीले हिरा र ढुङ्गा भेटायौ भने त्यसमा अन्तर मान्नुहुन्न। किनकी त्यो हिरा पनि ढुङ्गा नै हो। कृष्ण सबैको लागि समान मान्नुहुन्छ। महाभारतकै कुरा गर्दा दानव दुर्योधनलाई पनि समान व्यवहार गर्नुभयो। उहाँ भगवान हुनुहुन्थ्यो तर बाह्मणको खुट्टा ढोक्नुहुन्थ्यो। आफू राजा भए पनि सृष्टिकै रचनाकर्ता भएपनि एकदमै सामान्य व्यक्तिसरह हुनुहुन्थ्यो। म पनि उहाँजस्तै बन्न चाहन्छु।’

श्री कृष्णको आलोचना नहुने होइन। राधासँगको सम्बन्ध र गोपिनीहरुको प्रसङ्गले उनीमाथि प्रश्न उठ्छ। सुहाना भने यसलाई ‘गलत सोच’को संज्ञा दिन्छिन्। मानिसले भगवानलाई गलत सोच र नजरले हेर्ने र गोपिनिको कथा थाहा नहुँदा यस्तो प्रवृत्ति मौलाएको उनले बताइन्।

'१६ सय गोपिनीको पछाडि कथा छ। उहाँहरू कुनै दानवको श्रीमती हुनुहुन्थ्यो। उनीहरुका श्रीमान मारिँदा गोपिनीहरू निकै रुनु भयो। हामी श्रीमानबिना बस्नुपर्‍यो तपाईँले यो के गर्नुभयो, हामीलाई समाजले होच्याउँछ भनेर उनीहरुले कृष्णलाई भने। विधवालाई होच्याउने समाज अहिले पनि छ। त्यो नहोस् भनेर कृष्णले १६ सय गोपिनीलाई बिहे गरेका हुन्,’ सुहानाले कथा बताइन्।

सुहानाले थप भनिन् : कृष्णजी भनेको सधैँ नारीको मान राख्ने हो। द्रोपदीको चिर हरणहुँदा पनि मान र सम्मान रहिरहोस् भनेर सोच्नु भयो। द्रोपदीको मान र सम्मानमा दुर्योधनले औंला उठाउँदा महाभारत रचिदिने कृष्ण नै हुन्।

त्यसैले त उनी आफ्नो आध्यात्मिक यात्रा कृष्णबाटै सुरू भएको बताउँछिन्। 'जहाँ बाट मानिसले आफ्नो केही सुरु गर्छ त्यो कहिले पनि बिर्सनुहुन्न जस्तो लाग्छ। त्यसैले म अहिले पनि हरे कृष्ण भन्छु। हरे कृष्ण भनेको राधाकृष्णलाई पुकारको हो। दुवैको नामसँगै आउँदा सकरात्मक विचार आउँछ,' उनले भनिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell