PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेता तिमल्सिनाले गरे नेतृत्वको ध्यानाकर्षण : सिन्धुपाल्चोक १ माओवादी केन्द्रलाई छाड्नु न्यायोचित हुँदैन



पहिलोपोस्ट

नेता तिमल्सिनाले गरे नेतृत्वको ध्यानाकर्षण : सिन्धुपाल्चोक १ माओवादी केन्द्रलाई छाड्नु न्यायोचित हुँदैन
फोटो : तिमल्सिनाको फेसबुकबाट।

काठमाडौं : आसन्न निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसले उम्मेदवारी दिनुपर्ने स्थानीय नेताहरुले माग गरेका छन्। काङ्ग्रेसका महासमिति सदस्य तथा स्थानीय नेता बलदेव तिमल्सिनाले ध्यानाकर्षण जारी गर्दै उक्त क्षेत्रमा काङ्ग्रेसले छोड्नुपर्ने र नेकपा (माओवादी केन्द्र)ले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित नदेखिएको बताएका हुन्।

सो विषयमा नेता तिमल्सिनाले काङ्ग्रेस सभापति तथा शिर्ष नेतृत्व, केन्द्रीय समिति र कार्यदलको ध्यानाकर्षण गराएका छन्।

उनले भने, ‘मतको तथ्यांक, पार्टीको सांगठनिक अवस्था, स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्वाचित हुने पुष्टि भैसकेको छ। २०७४ को आमनिर्वाचनमा जितेको भन्ने तर्क दावी गर्नुको कुनै तुक देखिदैन किनकि त्यो निर्वाचनमा प्राप्त मत माओवादी केन्द्रको मात्र होइन, त्यसबेला उसले नेकपा (एमाले)सँग गठबन्धन गरेको थियो।’

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार वडाध्यक्षले पाएको मतमा काङ्ग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ। त्यस्तै, राप्रपाको २ हजार र नेकपा (एकीकृत समाजवादी)को १ हजार ६५० मत छ।

स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिकामध्ये काङ्ग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख/ उपप्रमुखसहित बहुमत, जुगल, बलेफी र सुनकोशीमा ३ वटा गाउँपालिकामा उपाध्यक्षसहित बहुमत र लिसंखुपाखर गाउँपालिकामा ६ मध्ये ३ वटा वडा जितेको छ। उक्त क्षेत्रभित्रको ५४ वडामध्ये ३२ वडामा काङ्ग्रेसले जित्दा माओवाद केन्द्रले ५ वटा वडा जितेको छ।

‘माओवादी केन्द्रले उक्त क्षेत्रको ४ वटा पालिकामा एउटा वडा सदस्य समेत जितेको छैन। काङ्ग्रेससँगको गठबन्धनबाट प्रमुख जितेको जुगल गाउँपालिकामा प्रमुख बाहेक १ सदस्य पनि जित्न नसकेको र लिसंखुपाखर गाउँपालिकामा प्रमुख, एउटा वडाध्यक्ष र २ सदस्य मात्र जितेको छ भने जिल्ला समन्वय समितिम एमालेसँग तालमेल गर्दा समेत एउटा सदस्य समेत निर्वाचित हुन सकेन,’ तिमल्सिनाले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell