PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसकारण सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्ने आँटमा छैनन् अग्नि सापकोटा



पहिलोपोस्ट

यसकारण सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्ने आँटमा छैनन् अग्नि सापकोटा
फाइल फोटो।

  • फूलमान तामाङ-

चौतारा : सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै जिल्लामा चुनावी माहोल तातिएको छ। अहिले सिन्धुपाल्चोक १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले टिकट पाउँछन् कि हालका सभामुख अग्नि सापकोटाले? धेरैको चासोको विषय बनेको छ।

कतिपयले क्षेत्र नम्बर १ माओवादीलाई छाडे क्षेत्र नम्बर २ कांग्रेसले पाउने आँकलन गर्न थालेका छन्। क्षेत्र नम्बर १ कसैगरी कांग्रेसलाई नछाड्ने 'मुड'मा छन् सभामुख सापकोटा। कारण - क्षेत्र नम्बर २ मा माओवादी केन्द्र निकै कमजोर भएको बताइन्छ। यद्यपि, टिकटबारे टुंगो लगाउने जिम्मा पाएको गठबन्धनको कार्यदल अहिले छलफलमै छ।

कस्तो छ मतको अवस्था?

सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा ४९ वडाहरु छन्। जसअन्तर्गत हालै सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेकपा (एमाले)ले २ पालिकासहित २० वटा वडामा जित निकाल्यो।

इन्द्रावती र पाँचपोखरीमा प्रमुख र उपप्रमुख दुवै एमालेबाट निर्वाचित भए। यी दुई पालिकामा वडाध्यक्षहरुले पाएको मतको आधारमा एमाले पहिलो नम्बरमा छ।

यता, कांग्रेसले पनि २ पालिका मेलम्ची र हेलम्बुको प्रमुखसहित २० वटा वडामा जित निकाल्यो स्थानीय तह निर्वाचनमा। यो क्षेत्रमा एमाले भन्दा २ हजार मतान्तरले दोस्रो स्थानमा कांग्रेस छ।

त्यस्तै, माओवादी केन्द्रले चौतारा नगरपालिकासहित जम्मा ७ वडा जितेको छ। समग्रमा क्षेत्र नम्बर २ मा माओवादी तेस्रो स्थानमा छ। यसकारण पनि माओवादी केन्द्र यो क्षेत्रमा गठबन्धन गरेर चुनावमा उत्रिन मानिरहेको छैन।

गएको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबिच सिन्धुपाल्चोकमा गठबन्धन हुन सकेन। बरु माओवादी-एमाले मिलेर इन्द्रावती अध्यक्षमा कांग्रेसका निवर्तमान सभापति विकास लामालाई पराजित गरे। त्यसैले यो क्षेत्रमा काङ्ग्रेसका कार्यकर्ताहरु माओवादी केन्द्रदेखि रुष्ट भएको बताइन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँचपोखरीको एउटा वडा र समाजवादीले चौताराको एउटा वडा जितेका छन्।

क्षेत्र १ यसकारण माओवादीलाई भरपर्दो

क्षेत्र नम्बर १ का ५४ वटा वडामा का‍ंग्रेसले ३२, एमालेले १६, माओवादीले ५ र स्वतन्त्र १ वडामा जित निकालेको छ। वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ। त्यस्तै, राप्रपाको २ हजार र नेकपा (एकीकृत समाजवादी)को १ हजार ६५० मत छ।

जसअन्तर्गत माओवादी केन्द्रले जुगल, लिसङखुपाखार, बलेफीमा प्रमुख जित निकालेको छ भने चौतारा साँगचोकगढीमा पनि प्रमुखमा जित निकालेको छ। यहाँ तेस्रो स्थानमा भए पनि ५ वडा सहित चार पालिकामा प्रमुख आफ्नो पार्टीबाट भएकोले उनी केही ढुक्क देखिन्छन्। यता क्षेत्र २ मा ७ वडाबाहेक कुनै स्थानीय तह नजितेकोले पनि सापकोटा क्षेत्र २ मा आउन नचाहेको बताइन्छ।

लिसङखु र चौतारालाई माओवादीको भोट बैंकको रुपमा समेत लिइन्छ। सापकोटाको वडा पनि क्षेत्र १ मै परेकाले उनी यही क्षेत्रबाटै लड्ने गरी गठबन्धनबाट टिकट ल्याउने प्रयासमा रहेको कांग्रेसका एक जिल्ला नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell