PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन



रासस

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन
फोटो : सुभानु आचार्य/रासस

ललितपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन्। आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी हुन्।

मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए। साथै, पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गरेका थिए।

राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन्।

सोही क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले नेपाल सरकारसँग एक रुपैयाँ नलिई कृष्ण मन्दिर नजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरेको जानकारी गराए।

सो कुरा सुनेसँगै भण्डारीले आफू छिट्टै पाटन दरबार आएर भीमसेन मन्दिरको अवलोकन गर्ने वचनबद्धता व्यक्त गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए।

सो अवसरमा ललितपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महानगपालिकाका वडाध्यक्ष, मङ्गल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधान, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंलगायतले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले आज करिब पाँच मिनेट समय पाटन कृष्ण मन्दिर परिसरमा बिताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell