PahiloPost

Jun 15, 2025 | १ असार २०८२

लगातार छलफल गर्दा पनि पदाधिकारी छान्न नसकेको माओवादी शनिवार पनि जुट्यो पेरिसडाँडामा



पहिलोपोस्ट

लगातार छलफल गर्दा पनि पदाधिकारी छान्न नसकेको माओवादी शनिवार पनि जुट्यो पेरिसडाँडामा
फाइल फोटो

काठमाडौं : पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शनिवार पनि सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। शुक्रवारको बैठक पदाधिकारी चयन नगरी टुंगिएको थियो। 

पार्टीका पदाधिकारी चयनका लागि माओवादी केन्द्रले स्थायी कमिटीमा केही दिन यता लगातार छलफल गरिरहेको छ। बुधवार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बिहीवार पदाधिकारी टुंगो लाग्ने दाबी गरेका थिए। तर, बिहीवार बैठक नै बस्‍न सकेन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ब्यस्त रहेको भन्दै स्थायी कमिटीले पदाधिकारी टुंग्याउन नसकेको महराले बताएका थिए। 

माओवादी केन्द्रको महाधिवेशन ७ महिनाअघि सम्पन्न भए पनि हालसम्म पदाधिकारी चयन भएको छैन। अध्यक्षमा महाधिवेशनपछि सम्पन्न पहिलो केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई चयन गरे पनि अरु पदाधिकारीमा भने माओवादी अनिर्णित रहँदै आएको छ।  

असार २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनुका साथै पोलिटब्युरो गठन गरेको थियो। तर, पदाधिकारीबारे भने त्यतिबेला प्रचण्डले केही समय मागेका थिए। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहने प्रचण्डले असारमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा बताएका थिए।

महासचिवका बारेमा माओवादी केन्द्रमा विवाद रहँदै आएको छ। पार्टीका नेता वर्षमान पुन र अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा महासचिवको दौडमा रहेका भए पनि पछिल्लो समय देव गुरुङ र हरिबोल गजुरेललाई प्रचण्डले महासचिवमा अघि बढाउन खोजेको बताइन्छ। माओवादी केन्द्रको विधानमा पनि कति जना पदाधिकारी हुने भन्नेबारेमा प्रष्ट छैन। शुक्रवारको बैठक चुनाव केन्द्रित भएको महराले बताएका छन्।

मा‌ओवादीले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरिसकेको छ। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम लाई माओवादीकै चिन्हमा चुनाव लडने तय भइसकेको छ। स्थायी कमिटीको बैठकमा निर्वाचनबारे थप निर्णय हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell