PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दक्षिणका राष्‍ट्रपतिलाई उत्तर कोरियाली नेता किमकी बहिनीको चेतावनी : चुप लाग, एक टुक्रा रोटीका लागि भाग्य दाउमा राख्दैनौँ



पहिलोपोस्ट

दक्षिणका राष्‍ट्रपतिलाई उत्तर कोरियाली नेता किमकी बहिनीको चेतावनी : चुप लाग, एक टुक्रा रोटीका लागि भाग्य दाउमा राख्दैनौँ
फोटो: योन्हाप

उत्तर कोरियाले दक्षिण कोरियाले राखेको आर्थिक सहायताको प्रस्ताव अस्वीकार गरेको छ। आणविक निःशस्त्रिकरणका लागि भन्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले राखेको आर्थिक सहयोगको प्रस्तावलाई उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो-जोङले अस्वीकार गरेकी हुन्।

दक्षिण कोरियाली सरकारले प्योङयाङलाई आणविक निःशस्त्रिकरणको बदलामा आर्थिक सुधारका लागि दिने ‘शाहसी पहल (अडासियस इनिसिएटिभ)’लाई उत्तर कोरियाले कहिल्यै स्वीकार नगर्ने बताएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएलाई उदृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ।

उत्तर कोरियाको स्टेट अफेयसर्स कमिसनकी सदस्यसमेत रहेकी किमले दक्षिण कोरियाली राष्ट्रपति युन प्रशासनको उक्त कदमलाई ‘मूर्खताको पराकाष्ट’ भनेकी छिन्। उनले यो सहयोगलाई पूर्व ली मियोङ बक सरकारको योजनाको नक्कल भनेकी छन्।

बक सरकारले ‘भिजन ३००० : डिन्युक्लियराइजेसन एण्ड ओपनिङ’ योजना अगाडि सारकेो थियो। जुन दशक अगाडि नै असफल सावित भइसकेको छ। यो योजना अनुसार उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम त्यागे र सीमा खुला गरे त्यहाँको प्रति व्यक्ति आय तीन हजार डलर पुर्‍याउने गरी आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको थियो।

किमले राष्ट्रपति युनको नाम नै लिएर उनलाई मन नपराउनेसमेत बताएकी छन्। उनले सोलको प्योङयाङ प्रतिको नीतिमाथि गाली गर्दै ‘बेतुकको सपना’ नदेख्न भनेकी छन्।

किमले राष्ट्रपति युनसँग प्रत्यक्ष वार्तामा नबस्नेसमेत बताएकी छन्। चार दिनअगाडि स्वतन्त्रता दिवस समारोहमा राष्ट्रपित युनले उत्तरलाई सहयोग गर्ने प्रस्ताव गरेका थिए।

किमले युनको योजनालाई केटाकेटीपनको संज्ञा दिँदै ‘मकैको रोटीका लागि कसैले भाग्य दाउमा नराख्ने’ बताएकी छन्।

उनले पुनः दक्षिण कोरियाले उत्तरतिर खराब फोहर पठाउन निरन्तरता दिइरहेको आरोपसमेत लगाएकी छन्। उनले यसअघि दक्षिण कोरियाले आफ्नो देशमा बेलुनमार्फत पठाएका पर्चा पम्लेटको माध्यमबाट कोभिड-१९ फैलिएको आरोप लगाएकी थिइन्।

‘ती खलनायकहरूले हाम्रो इलाकामा खराब फोहोरहरू घुसाउन जारी राखेर हाम्रो सुरक्षा परिस्थितिमा गम्भीर रूपमा अतिक्रमण गरेर उत्तरका बासिन्दाहरूलाई खाना आपूर्ति र चिकित्सा सहायताको कुरा गर्छन्’, उनले भनिन्, ‘यस्ता कार्यहरूले हाम्रो जनताको बढ्दो घृणा र क्रोधलाई मात्र जगाउनेछ।’

यसैबिच, दक्षिण कोरियाले किमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘अशिष्ट अभिव्यक्ति’ भनेर टिप्पणी गरेको छ।

‘उत्तर कोरियाको यस्तो मनोवृत्तिले कोरियाली प्रायद्वीपको शान्तिलाई मात्रै खतरामा पारेको छैन तर यसको अन्तर्राष्ट्रिय एक्लोपन र आर्थिक अवस्थालाई पनि बिगार्ने छ,’ दक्षिण कोरियाको एकीकरण मन्त्रालयकी प्रवक्ता ली ह्यो जङले भनेकी छन्।

उनले प्योङयाङलाई सियोलको प्रस्तावमा आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेकी छन्।

उत्तर कोरियाली नेतृले भने दक्षिणका राष्ट्रपति युनलाई ‘मुख बन्द राख्न’ पनि आग्रह गरेकी छन्। १९८७ मा जन्मेकी किम उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिन्छिन्। २०१४ देखि उनले प्रचार विभाग सम्हालेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell