PahiloPost

Jun 15, 2025 | १ असार २०८२

माओवादी केन्द्रको २१ जना पदाधिकारीमा महिला एक जना मात्रै, विधानले के भन्छ?



पहिलोपोस्ट

माओवादी केन्द्रको २१ जना पदाधिकारीमा महिला एक जना मात्रै, विधानले के भन्छ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारीमा एक जना मात्र महिला परेकी छन्। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री समेत रहेकी पम्फा भुसाल माओवादी केन्द्रको उपमहासचिव भएकी हुन्।

महासचिवकै लागि दावी गरेकी भुसाल उपमहासचिव चयन भएकी हुन्। २१ जनाको पदाधिकारीमा भुसाल एक्ली महिला प्रतिनिधि हुन्। बाँकी २० जना भने पुरुष नेताहरु पदाधिकारी चयन भएका छन्।

शनिवार सम्पन्न भएको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पदाधिकारीको टुंगो लगाएको थियो। ८ महिना अघि २०७८ पुस १८ गते माओवादी केन्द्रको ८औँ महाधिवेशन सम्पन्न भएको थियो। पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरे पनि बाँकी पदाधिकारी छान्न भने माओवादीले ८ महिना लगाएको हो।

को-को पदाधिकारी छानिए?

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले महासचिवमा देव गुरुङलाई प्रस्ताव गरेका थिए। शनिवार बसेको स्थायी कमिटीको बैठकले महासचिवमा गुरुङलाई चयन गरेको हो।

पार्टीका पदाधिकारीको नाम स्थायी कमिटीको बैठकमा प्रस्ताव गरिएकोमा सर्वसम्मत पारित भएको माओवादी केन्द्रले जनाएको छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिवमा गुरुङको नाम पर्दा उपाध्यक्ष कृष्णबहादुर महरालाई बनाइएको छ।

उपमहासचिवमा ७ जनाको नाम छ। वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल उपमहासचिव चयन भएका छन्।

यस्तै, ९ जना सचिव छन्। दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव चयन गरिएको हो।

श्रीराम ढकाल कोषाध्यक्ष चयन भएका छन्। महासचिवका लागि शर्मा र पुनबिच तीव्र प्रतिस्पर्धा थियो। तर, प्रचण्डले दुवै जनालाई नछानेर गुरुङलाई महासचिवमा अघि सारेका हुन्। माओवादी केन्द्रको विधानमा कति जना पदाधिकारी हुने भन्नेबारेमा केही उल्लेख छैन।

महिला सहभागिताबारे के भन्छ विधान?

पदाधिकारीको संख्याबारे मौन रहेको माओवादी केन्द्रको विधान पदाधिकारीमा महिला सहभागिताबारे पनि अस्पष्ट छ। सबै समितिमा भने ३५ प्रतिशत महिला हुनुपर्ने माओवादी केन्द्रको विधानमा उल्लेख छ।

धारा ३८ (३)मा भनिएको छ, '३५ प्रतिशत महिला सदस्य रहनेछन्। उक्त संख्यालाई सय प्रतिशत कायम गरी सो मध्यबाट १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने छ।' 

एमालेमा २ जना महिला पदाधिकारी

अर्को ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)मा भने १९ जना पदाधिकारीमध्ये २ जना महिला छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्याल महिला पदाधिकारी हुन्।

एमालेको २०७८ मंसिरमा सम्पन्न भएको महाधिवेशनले १९ जना पदाधिकारी चयन गरेको थियो। ६ जना उपाध्यक्षमध्ये शाक्य एक्ली महिला हुन् भने ७ जना सचिवमा अर्याल एक्ली महिला सचिव हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell