PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डलाई खल्तीबाट २० जनाको नाम निकाल्न लागेको ८ महिना



प्रकाश भण्डारी

प्रचण्डलाई खल्तीबाट २० जनाको नाम निकाल्न लागेको ८ महिना
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का २१ जना पदाधिकारीमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८ महिनाअघि २०७८ पुस १९ गते अध्यक्ष चयन भए। पुस ११ देखि १८ गतेसम्म चलेको ८औँ महाधिवेशनले २३६ जनाको अपूर्ण केन्द्रीय कमिटी बनाएको थियो। उक्त कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई दोहोर्‍यायो।

त्यसबाहेकका पदाधिकारी प्रचण्डले चयन गरेनन्। बरु नेता वर्षमान पुनको स्वास्थ्यलाई देखाएर पन्छिएका थिए प्रचण्ड। पुन चीनमा उपचार गराइरहेकाले पदाधिकारी छान्न नसकिएको बताएका प्रचण्ड ८ महिना पार्टीलाई पदाधिकारीविहीनमै चलाइरहे।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पदाधिकारीविहीन भएरै माओवादी केन्द्र सहभागी भयो। साउन २३ गतेको केन्द्रीय कमिटीमा प्रचण्डले पोलिटब्युरोमा रहने नेताको नाम प्रस्ताव गरे पनि विवाद भयो। केन्द्रीय कमिटीलाई प्रचण्डले पूर्णता दिए भने स्थायी कमिटी चयन गर्न सकेनन, असार २३ गतेको केन्द्रीय कमिटीको बैठकबाट।

विवाद भएपछि प्रचण्डले पोलिटब्युरोमा वैकल्पिक सदस्य रहने व्यवस्था समेत गरेका थिए। महाधिवेशनका बेला पनि प्रचण्डले महाधिवेशनको हलमा केन्द्रीय सदस्यको नाम वाचन गरेपछि विवाद भएको थियो। केही ठाउँका प्रदेश कमिटीलगायतमा चुनाव भएपनि महाधिवेशनमा भने प्रचण्डले नाम वाचन गरेर केन्द्रीय सदस्य चयन गरेका थिए।

खल्तीका नाम अनुमोदन गराउन सकस

माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक २०७८ पुस १९ गते बस्दा दोस्रो केन्द्रीय कमिटीको बैठक पुस २५ गतेका लागि बोलाइएको थियो। तर, कोभिड-१९ संक्रमणको बहाना देखाएर उक्त बैठक तोकिएको मितिमा बस्न सकेन।

यो बिचमा नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा अनुमोदन हुनुअघि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा फरक मत राखेपछि माओवादी केन्द्रभित्रको विवाद चर्किएको थियो।

उक्त विवादका कारण पनि केही समय माओवादी केन्द्रका औपचारिक बैठकहरु बस्न सकेनन्। पार्टीको असन्तुष्ट पक्षलाई टालटुल पारेका प्रचण्ड असार २३ गतेको केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयन गर्ने पक्षमा थिए। तर, महासचिव लगायतका पदमा विवाद भएपछि उनले केही समय मागे र पदाधिकारी चयन गर्नबाट पन्छिए।

केन्द्रीय सदस्यहरुले पार्टी राम्रोसँग चल्न नसकेको भन्दै बैठक लम्ब्याएर भएपनि पदाधिकारी चयन गर्नै पर्ने प्रचण्डलाई दबाब दिएपछि आफूलाई केही समय दिन प्रचण्डले अनुरोध गरेका थिए। त्यसयता माओवादी केन्द्रले लगातार स्थायी कमिटीको बैठकमा पदाधिकारीबारे छलफल गर्दै आएको थियो।

महासचिवका लागि पछिल्लो समय हरिबोल गजुरेलको नाम पनि चर्चामा आएको थियो। यस्तै, जनार्दन शर्मा र पुनबिच तीव्र प्रतिस्पर्धा भएपछि प्रचण्डले तेस्रो व्यक्तिको खोजी गरेका थिए। पुन र शर्माले एकले अर्कोलाई निषेध गर्ने देखिएपछि साझा व्यक्तिको रुपमा देव गुरुङलाई चयन गरिएको हो।

प्रचण्डका प्रेस संयोजक रमेश मल्लले सर्वसम्मत पदाधिकारी चयन भएको जानकारी दिएका छन्।

‘पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ,’ मल्लले भनेका छन्।

अर्थमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि माओवादी केन्द्रमा महासचिव पुन हुने चर्चा चलेको थियो। दुवै जनालाई महासचिव नबनाएर प्रचण्डले संसदीय दलको प्रमुख सचेतक समेत रहेका गुरुङलाई महासचिव बनाएका हुन्। गुरुङ सत्ता गठबन्धनले गठन गरेको कार्यदलको सदस्य समेत हुन्।

विशेष अधिवेशनसम्मको लागि व्यवस्था

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विशेष महाधिवेशन हुने बताए। उनले त्यतिन्जेलसम्मका लागि माओवादी केन्द्रका पदाधिकारी चयन भएको जानकारी दिए।

प्रदेश तथा प्रतिनिधिसभामा पार्टी पदाधिकारीविहीन अवस्थामा जान नसक्ने भन्दै माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो। महराले बिहीवार नै पदाधिकारी चयन भइसक्ने दाबी गरेका थिए।

तर, प्रचण्डको व्यस्तताका कारण पदाधिकारी चयन हुन सकेको थिएन। स्थायी कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणापत्र मस्यौदा समिति पनि बनाएको छ।

किन लाग्यो २० जना छान्न ८ महिना?

माओवादी केन्द्र पछिल्लो समय प्रचण्डको एकल निर्णयमा चल्दै आएको थियो। पार्टीका महत्वपूर्ण निर्णयमा पनि प्रचण्डको हस्तक्षेप हुने गरेको भन्दै नेताहरुले असन्तुष्टि जनाउने गरेका थिए।

यस्तै, भातृ संगठनहरुमा पनि प्रचण्डले हस्तक्षेप गरेको भन्दै विद्यार्थी संगठनको विवाद हालसम्म मिलेको छैन। उक्त विवाद मिलाउने जिम्मा बैठकले प्रचण्डलाई दिएको छ। हुन त बेला-बेलामा प्रचण्डले माओवादी केन्द्रभित्र पदको लागि लफडा हुने गरेको बताउने गरेका छन्।

शुक्रवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले अहिले पार्टीमा पदलोलुप देखिएको टिप्पणी गरेका थिए। मुख्यगरी माओवादी केन्द्रको महासचिवमा तीव्र प्रतिस्पर्धा भएपछि प्रचण्डले पदाधिकारी छान्ने काम टार्दै आएका थिए। माओवादी केन्द्रभित्र हाल श्रेष्ठ र प्रचण्ड गरी दुई गुट सक्रिय रहेको बताइन्छ।

शनिवारको बैठकले वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा गुरुङलाई छान्दा उपाध्यक्ष कृष्णबहादुर महरालाई बनाइएको छ। उपमहासचिवमा ७ जनाको नाम छ। वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल उपमहासचिव चयन भएका छन्।

यस्तै, ९ जना सचिव छन्। दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव चयन गरिएको हो। श्रीराम ढकाल कोषाध्यक्ष चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell