PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अलविदा प्रदीप गिरि : बिहान अस्पतालमा र दिउँसो पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि शव राखिने, आजै अन्त्येष्टि



पहिलोपोस्ट

अलविदा प्रदीप गिरि : बिहान अस्पतालमा र दिउँसो पार्टी कार्यालयमा  श्रद्धाञ्जलीका लागि शव राखिने, आजै अन्त्येष्टि

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल मेडिसिटी अस्पतालमा राखिने भएको छ। आज बिहान ९ बजे देखि ११ बजेसम्म अस्पतालको शिवालयमा पार्थिव शरीर राखिने नेपाली कांग्रेसले जनाएको छ।

मेडिसिटीपछि उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय सानेपा लगिनेछ। बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म सानेपामा श्रद्धाञ्जली अर्पण गर्न सकिनेछ। त्यसपछि गिरिको आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ।

७५ वर्षीय गिरिको शनिवार राति ९:३० बजे उपचारका क्रममा ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो।

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको थियो। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो। समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए।  गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका थिए। प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए। उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न थिए।

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए। गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए। गान्धीवादी नेताका रुपमा परिचित गिरिलाई कांग्रेसका प्रखर नेताका रुपमा समेत लिने गरिन्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell