
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफूलाई दुखी बनाएको बताएकी छिन्। गिरिको शनिवार राति ललितपरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। शनिवार नै भण्डारीले अस्पताल पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए।
राष्ट्रपति भण्डारीले गिरिको निधनले नेपालले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तिव गुमाएको बताएकी छिन्।
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) August 21, 2022
यस्तै, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ।
क्यान्सर रोगबाट पीडित नेता गिरीको आज पशुपतिमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ। त्यसअघि बिहान अस्पतालको शिवालयमा र दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।