काठमाडौं : चाबहिल- जोरपाटी हुँदै साँखु जाने सडक विस्तार आयोजनाको ठेक्का लागेको वर्षौँ हुँदा पनि सडक निर्माण नहुँदा स्थानीयहरू आजित बनेका छन्। यो सडक विस्तार थालिएसँगै अधिकांश सडक हिउँदमा धुलो उडेर हिँड्न सकिँदैन भने वर्षा याममा असारे खेतजस्तै हिलाम्मे हुने गरेका छन्।
सयमा नै काम नभएको भन्दै आइतबार बिहानै स्थानीयले साँखुमा सडक बन्द गरेका छन्। थलीको मुख्य चोकमा बास तेर्साएर बाटो बन्द गरेका हुन्। आफ्ना मागहरू लामो समयदेखि सम्बोधन नभएको र वाचा मात्र गरेकाले सडक बन्द नै गरेर आन्दोलनमा उत्रिनु परेको स्थानीय प्रकाश बस्नेतले बताए।
'हामीलाई दिनैको सास्ती भयो। कहिले बन्छ सडक सधैँ यस्तो खेप्नु पर्ने हो,' उनले भने।
बिहान ८ बजेदेखि बाटो बन्द गरिए पनि अहिलेसम्म त्यहाँ स्थानीय जनप्रतिनिधि पुगेका छैनन्। सानो सङ्ख्यामा पुगेका सुरक्षाकर्मी पनि मुक्दर्शक बनेका छन्। यसअघि पनि स्थानीयले एमाले नेता रामेश्वर फुयाँललाई घेरेर बाटो पिच गर्न दबाब दिएका थिए।