
भारतीय फुटबल संघको आसन्न निर्वाचनका लागि भारतीय टोलीका पूर्व खेलाडी भाइचुङ भुटियासहित ७ जनाले अध्यक्ष पदमा दाबेदारी दिएका छन्। भारतीय फुटबल सञ्चालन गरिरहेको अदालतले गठन गरेको प्रशासनिक समिति (सिओए)ले सात जना उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो।
जसमा ४५ वर्षे पूर्व कप्तान भुटियाले शुक्रवार उम्मेद्वारी दर्ता गराएका थिए। उनको नाम भारतीय टोलीका पूर्व सदस्य दीपक मोन्डल र पूर्व खेलाडी मधुकुमारीले प्रस्ताव गरेका छन्।
भुटियाबाहेक पश्चिम बंगालका बीजेपीका नेता तथा पूर्व गोलकिपर कल्याण चौबे, दिल्ली फुटबलका अध्यक्ष शाजी प्रभाकरण, आईफएफए वेस्ट बेङ्गलका अध्यक्ष अजित बनर्जी, भारतीय राष्ट्रिय कांग्रेसका विधासभा सदस्य तथा कर्नाटक फुटबल एसोसिएसनका एनए हरिस, राजस्थानको कांग्रेसका नेता मनवेन्द्र सिंह, पूर्व खेलाडी तथा मेघालयका विधानसभा सदस्य युजेनसन लिंगडोह र गोवाको क्लब चर्चिल ब्रदर्सकी सिईओ वालंका अलेमओ रहेका छन्।
उम्मेद्वारहरु मध्येमा भुटिया दावेदारमध्येमा माथि देखिए पनि उनका लागि यो सहज नहुने भारतीय सञ्चारमाध्यमहरुले प्रक्षेपण गरेका छन्। उनको ठूलो प्रतिस्पर्धा बेङ्गलका चौबेसँग हुने बताइएको छ। जसको प्रस्ताव गुजरात फुटबल संघ र अरुणाचल प्रदेशले गरेको थियो। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहको क्षेत्र हो भने अरुणाचल प्रदेश पूर्व खेलकुद मन्त्री तथा हाल कानुन मन्त्री किरण रिजिजुको क्षेत्र हो।
भाइचुङ भुटियाले सन् १९९५ देखि २०११ सम्मको आफ्नो उत्कृष्ट करियरमा भारतका लागि १०० भन्दा बढी खेल खेलेर २६ गोल गरेका छन्।
सोमबार भारतको सर्वोच्च अदालतले प्रशासकहरूको समिति सिओएको नियुक्तिको कारण तेस्रो-पक्ष हस्तक्षेपको कारण फिफाले लगाएको निलम्बन सम्बन्धी मुद्दाको सुनुवाइ पछि भारतीय फुटबलको आगामी कार्यदिशा थप स्पष्ट हुनेछ।
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)मा तेस्रो शक्ति हाबी भएको भन्दै फिफाले तत्कालै सुरु हुने गरि अनिश्चितकालका लागि भारतमाथि यसैसाता प्रतिबन्ध लगाएको थियो।