
बुटवल : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफू अन्तिम पटक चुनाव लड्ने बताएका छन्। आइतवार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्।
उनले इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने र जित्ने विश्वास व्यक्त गरे। पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा जाने तयारी भएको खनालले बताए।
‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’, उनले भने, ‘एकतामै बल हुन्छ, एक्लो डेढुको असफलता अनिवार्य छ।’
उनले गठबन्धन चुनावसम्म हुन्छ की पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए।
राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि? भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘जनतासँगको मायापिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छु। अब एकपटक लड्छु।’
उनले आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे।
नेता खनालले एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको आरोप लगाउँदै तत्काल तालमेल वा एकताको सम्भावना नरहेको बताए। अहिले नेकपा (माओवादी केन्द्र)सँग निकटता रहेको उल्लेख गर्दै उनले वैचारिक, राजनीतिक, सैद्धान्तिक र सांगठनिक कार्यदिशा नमिली तत्काल वाम एकता भने नहुने प्रष्ट पारे।
‘हामीले त्यो निकटतालाई अझै निकट बनाउन कोसिस गरिरहेका छौँ। अहिले पार्टी एकता हुने सम्भावना छैन। तालमेल र कार्यगत एकता भने हुन्छ,’ नेता खनालले भने।