PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिनेमा हल खाली हुँदा अन्यौलमा नेपाली फिल्म उद्योग, टिकटमा ५० प्रतिशत छुट पाउँदा पनि दर्शक हेर्न गएनन्



लक्ष्मी बलायर

सिनेमा हल खाली हुँदा अन्यौलमा नेपाली फिल्म उद्योग, टिकटमा ५० प्रतिशत छुट पाउँदा पनि दर्शक हेर्न गएनन्

काठमाडौं : भारतको बलिउड उद्योग यतिखेर संकटमा छ। सुपरस्टारहरुको फिल्म धमाधम फ्लप हुँदैछ भारतमा। अमिर खान, अक्षयकुमार जस्ता कलाकारहरुले पनि दर्शकलाई सिनेमाघरसम्म तान्न सकेनन्।‍ एकातर्फ फिल्म बहिष्कार अभियान र अर्कोतर्फ फिल्ममा कथाको खोजी। यो दुवै कुराले अहिले बलिउड प्रभावित भएको छ। बरु दक्षिण भारतीय फिल्मले बलिउड फिल्महरुलाई उछिनिरहेका छन्।

यता, नेपालमा पनि नाम चलेका कलाकारहरुको फिल्म चल्न सकेको छैन। स्वस्तिमा खड्काको 'चिसो मान्छे', खगेन्द्र लामिछानेको 'पानीफोटो', अनुप बरालको 'दोख' लगायत चर्चामा रहेका फिल्म बक्सअफिसमा चलेनन्। नेपाली फिल्ममा कथा छैन भनेर आलोचना हुने गरेको छ। तर, कथा राम्रै भएका फिल्म हेर्न पनि दर्शक हलसम्म नपुगेको अवस्थामा फिल्म क्षेत्र कसरी अघि बढ्ला ? गत शुक्रवार नेपाली सिनेमाहलमा रिजिल भएका तीन नेपाली फिल्महरूको अवस्थाले सोच्न बाध्य बनाएको छ।

स्थापित कलाकारहरु सौगात मल्ल र सृष्टि अधिकारीको 'माइकल अधिकारी', बेनिशा हमाल अभिनित 'प्रेमगञ्ज' र पुष्प खड्का र श्रद्धा क्षेत्री स्टार 'कृष्ण लीला' शुक्रवार प्रदर्शन भए। तर यी तीनै फिल्मले दर्शकलाई हलसम्म तान्न सकेनन्। तीनै नेपाली फिल्महरूमा दर्शकको संख्या न्यून रहेको हल संचालकहरूको भनाई छ।

अफरले तानिएनन् दर्शक

फिल्म 'माइकल अधिकारी' र 'प्रेमगञ्ज' दर्शकलाई हलसम्म तान्न अफर समेत ल्याए। 'माइकल अधिकारी' ले ई-सेवाबाट १ रुपैयाँमा टिकट काट्न पाइने अफर केही समयका लागि दर्शकलाई दिइएको थियो। फिल्म 'प्रेमगञ्ज' ले पनि खल्तीबाट टिकट काट्दा दर्शकलाई ५० प्रतिशत क्यासब्याक दिने अफर ल्याएको थियो। तर यी अफरहरू पाउँदा समेत दर्शकहरूले फिल्म हेर्न सिनेमाहलमा आउन चाहेनन्।

राइजिङ मलमा रहेको क्यूज सिनेमाले शुक्रवार र शनिवार तीनै वटा नेपाली फिल्मलाई दुई-दुई शो दिएको थियो। तर नेपाली फिल्म हेर्न दर्शक नै नआएको बताउँछन् हल संचालक सुमित मैनाली। बरु नेपाली फिल्मको तुलनामा दक्षिण भारतीय फिल्म 'कार्तिकेय २' मा ठिकै दर्शक आइरहेको उनको भनाई छ।

'नेपाली फिल्ममा दर्शक नै छैनन्। आज पनि नेपाली फिल्महरूलाई एक-एक शो दिइएको थियो। तर नेपाली फिल्म रिलिज भयो, सकियो जस्तै भएको छ। बरू साउथ फिल्ममा राम्रै छ। १ रुपैयाँ र आधा पैसामा टिकट पाउँदा नि दर्शक आएनन् भने अरु के भन्नु। आखिर दर्शक कम पैसा हुँदा आउँछन् भन्ने नहुँदो रहेछ। यस कुरालाई मेकरले पनि सोच्नुपर्ने बेला भएको छ,'  उनले भने। 

 न्यूरोडमा रहेको रञ्जना सिनेप्लेक्स र पांगास्थित कीर्तिपुर सिनेप्लेक्समा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति नरहेको बताउँछन् संचालक नरेन्द्र महर्जन। 'दुबै हलमा नेपाली फिल्ममा दर्शकको उपस्थिति मध्यम नै छ। शुक्रवार र शनिवार राम्रै दर्शक हुनुहुन्थ्यो तर आज फाट्टफुट्ट मात्रै दर्शक आइरहनु भएको छ। 'कार्तिकेय २' मा पनि खासै दर्शक छैनन्,' उनले भने।

अर्को सातादेखि केही बहुप्रतिक्षित फिल्महरू रिलिज हुने भएकाले केही आशावादी छन् महर्जन। अर्को शुक्रवार प्रकाश र दि सिक्रेट अफ राधा रिलिज हुँदैछ।

त्यसैगरि, दर्शकको उपस्थिति न्यून भएसँगै देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्सले पनि यी तीन फिल्मलाई कम शो दिएको छ। बिग मुभिज, वान सिनेमाज र एफक्युब सिनेमाजमा पनि यी तीन फिल्महरूले खासै व्यापार गर्न सकेका छैनन्। 

परिच्छेद सेन निर्देशित फिल्म 'प्रेमगञ्ज' ले समीक्षात्मक रुपमा तारिफ बटुले पनि अन्य दुई फिल्मको समीक्षा भने औसत् नै छ। रामबाबु गुरुङ निर्देशित 'कबड्डी ४' पछि कुनै पनि नेपाली फिल्महरूले उत्साहजनक व्यापार गर्न सकेका छैनन्। जसकारण रिलिजको तयारीमा रहेका फिल्महरूले व्यापार के होला भन्ने अन्यौलता छाएको छ।

किन चलेनन् फिल्म?

पछिल्लो समय नेपाली फिल्ममाथि बलिउडभन्दा दक्षिण भारतीय फिल्मले नियन्त्रण जमाउँदै गएको छ। त्यसको प्रभाव यो साताको रिलिज भएका फिल्महरुको अवस्थाले प्रष्ट छ। भारतमा एक हप्ता अघि नै रिलिज भएको 'कार्तिकेय' ले ३ वटा नेपाली फिल्मलाई पछि पारेको छ मल्टिप्लेक्सहरुमा।

फिल्म निर्देशक मनोज पण्डित हाल प्रदर्शनमा रहेका फिल्महरुले दर्शकको प्रतिनिधित्व नै नगरेको बताउँछन्। यी फिल्महरुले दर्शकसँग सम्बन्ध स्थापित नै गर्न नसकेको उनको तर्क छ। फिल्ममा दर्शकले आफ्नो कथाको खोजी गरेको तर फिल्ममा दर्शकले आकर्षण नै नपाएको उनले बताए।

'फिल्ममा आकर्षण नै छैन। कथामा दर्शकको प्रतिनिधित्व नै भएन। सायद यिनै कारणहरुले फिल्म हलसम्म दर्शक पुगेनन्,' उनले भने, 'जबसम्म फिल्ममा दर्शकले आफूलाई पाउँदैन तबसम्म फिल्म चल्न सक्दैन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell