PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कास्की प्रहरीको अपरेशन एटिएम हाइस्ट, फितलो सुरक्षाले चोरको टार्गेटमा एटिएम बुथ



रिना थापा

कास्की प्रहरीको अपरेशन एटिएम हाइस्ट, फितलो सुरक्षाले चोरको टार्गेटमा एटिएम बुथ

पोखराः साउन ३ गते मध्यरातमा पोखरा (२७ तालचोकस्थित एनआइसी एशिया बैंकको एटिएम बुथ फोड्ने प्रयास भएकोबारे जिल्ला प्रहरी कार्यालयमा खबर आइपुग्छ। रातको २ बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुग्छ। एटिएम फोडेर चोरी गर्ने प्रयास भएको देखेपछि प्रहरीले खोजतलास सुरु गर्छ। सिसिटिभी फुटेजको मद्दतले प्रहरीले अपराधीको हुलिया पत्ता लगाउँछ। त्यसका साथै अपराधीले प्रयोग गरेको बाइक नम्बर पनि। सोही रात ३ बजे प्रहरीले चोरी गर्दा प्रयोग भएको बाइक भेट्टाउँछ। अनुसन्धानपछि बाइक तालचोकका एक व्यक्तिको भएको खुल्छ। सोधपुछमा उनको बाइक सोही रात चोरी भएको जानकारी प्रहरीलाई मिल्छ। 

अनुसन्धानमै रहेको प्रहरीलाई बिहान ६ बजे अर्को सूचना प्राप्त हुन्छ। वडा ३० मा रहेको एनएमबी बैंकको एटिएम बुथ फोडेर दुईवटा क्यासकेट चोरी भएको प्रहरीलाई जानकारी आउँछ। सो स्थलको सिसिटिभी फुटेज चेक गर्दा एनआइसी एसियामा चोरीको प्रयास गर्ने र एनएमबीको एटिएम बुथमा चोर्ने व्यक्ति एकै हुन्छन्। घटनाबारे थप अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय सिसुवाको टोली संयुक्तरुपमा खट्छन्। र, नाम राख्छन् ‘अपरेशन एटिएम हाइस्ट’। 

प्रहरी अपरेशनमा २१ वर्षीय अनिस तामाङलाई भदौ २ गते बेलहिया नाकाबाट नियन्त्रणमा लिइएको छ। 

नवलपुरस्थित देवचुली नगरपालिका ५ घर भई पोखरा ३० डुँडाकोमुख बस्दै आएका अनिसलाई १९ हजार नगदसहित, कपडा, मोबाइललगायतका सामाग्रीसहित कास्की प्रहरीले पक्राउ गरेको हो। 

उनलाई चोरी तथा डाँकाको अभियोगमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

हिँड्न परेर बाइक चोरी 
हार्डवेयर पसलमा काम गर्दै आएका अनिस चोरी गर्ने रात साथीकोमा थिए। वडा ३० अर्घौंचोकमा रहेका साथीको डेरामा मादक पदार्थ सेवन गरेर बसिरहेका अनिस फुपूलाई भेट्न लेकसाइड जान्छु भन्दै मध्यरातमा निस्किएका थिए। लेकसाइड जान्छु भनेर निस्किएका अनिसले बाटोमा बाइक चोरी गरे। प्रहरीको बयानमा उनले हिँड्न परेपछि बाइक चोरी गरेको बताएका छन्। 

चोरी गरेको बाइक प्रयोग गरेर उनी अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर दुईटा क्यासकेट लिएर हिँड्छन्। बैंकको एटिएम बुथबाट क्यासकेट सहजै निकाल्न सक्ने भएपछि उनी सोही रातको २ बजे वडा २७ को एनआइसी एसियाको एटिएममा पुग्छन्। उसैगरी क्यासकेट निकाल्न खोज्छन्। तर, नसकेपछि बुथबाट निस्किन्छन्। 

कास्की प्रहरीका प्रमुख अजय केसीका अनुसार एनआइसी बैंकको एटिएम बुथ अनिसले फोड्न नसक्नुको कारण बुथमा प्रयोग भएको डब्बल लक हो। जसकारण पनि अनिसले एनएमबीको एटिएम बुथ फोडे जसरी एनआइसीको निकाल्न सकेनन्। एनआइसी बैंकले चोरी हुन लागेको तत्काल खबर गरेको थियो। यता, एनएमबीले भने चोरी भइसकेको चार घण्टापछि प्रहरीलाई खबर गरेको थियो। 

प्रमुख केसीका अनुसार एनएमबीको एटिएम मेसिनको भेण्डर प्रतिवेदनमा मेसिनको चाबी पूर्णरुपमा बन्द नगरिएको कारण चोरी सफल भएका हुन्। 

पछिल्लो समय पोखरामा एटिएम मेसिन फोडेर चोरीको प्रयास गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत पुस महिनादेखि यतासम्म पोखरा महानगरमा ७ वटा एटिएम बुथ फोडेर चोरीको प्रयास भएका छन्। ७ मध्ये दुईटा बुथ एकै व्यक्तिले फोड्ने प्रयास गरेका हुन्। 

घटनालाई मध्यनजर गर्दै कास्की प्रहरीले पुनः चोरीको घटना नदोहोरिनका लागि वित्तीय संस्थाका केन्द्र प्रमुख र ब्रान्च म्यानेजरसँग अन्तरक्रिया पनि गरेको थियो। एटिएम बुथ सुरक्षा सावधानीबारे जानकारी गराई आवश्यक सर्तकता अपनाउन पनि निर्देशन दिएको कास्की प्रहरीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए। 

नेपाल प्रहरीको प्रधान कार्यालयबाट एटिएम बुथ सुरक्षार्थका लागि वित्तीय संस्थामा परिपत्र पनि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell