
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड बराबरीमा रोकिए। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न ६ गोलको थ्रिलरमा सिटीले एकपटक अग्रता बनाएको थियो भने घरेलु टोलीले दुई गोलले समेत अघि रहेको थियो। यद्यपि खेल भने ३-३ गोलको बराबरीमा रोकियो।
खेलको पहिलो मिनेटमै बर्नान्डो सिल्भाको पासमा 'अनमार्क' रहेका इल्के गुण्डोगनले गोल गर्दा सिटीले अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा एलन सेन्ट म्याक्सिमिनको पासमा मिगुएल अल्मिरोनले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै म्याक्सिमिनकै पासमा ३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दा पहिलो हाफमा न्युक्यासल २-१ गोलले अघि रह्यो। दोस्रो हाफको सुरुमै किइरन ट्रिपरले गोल थप्दा घरेलु टोलीले अग्रता फराकिलो बनायो। ५४ औं मिनेटमा उनको गोलसँगै न्युक्यासल खेलमा हावि देखियो।
तर, त्यसपछि पनि सिटी खेलमा फर्कन सफल भयो। सिटीका लागि रोड्रीको पासमा अर्लिङ हल्याण्डले ६० औं मिनेटमा गोल फर्काउँदा ६४ औं मिनेटमा बर्नान्डो सिल्भाले केभिन डी ब्रुइनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। र, खेल ३-३ को बराबरीमा टुंगियो।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको सिटी अंकतालिकाको दोस्रो स्थानमा छ। सिटीसँग समान ७ अंक जोडेका लिड्स् युनाइटेड, टोटेनहम हट्सपर र ब्राइटोन क्रमश तेस्रो देखि पाँचौ स्थानमा छन् भने ५ अंक जोडेको न्युक्यासल छैटौं स्थानमा छ। शीर्षस्थानमा लगातार तीन खेलमा जित निकालेको आर्सनल छ।