PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाको तिर्खु गाउँमा हुने, स्कुलमा प्रोजेक्टरबाट देखाइने



पहिलोपोस्ट

‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाको तिर्खु गाउँमा हुने, स्कुलमा प्रोजेक्टरबाट देखाइने

खलङ्गा : जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ। यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै चलचित्र हेर्ने भएका छन्।

झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो। प्रिमियर शोका लागि चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदीले आइतवार जुम्ला पुगेका थिए।

चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ। चलचित्र निर्माणमा झरु दुई करोड ५० लाख बजेट लगानी भएको छ।

कथा लेखक सुवेदीले भने, ‘चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलियालगायत दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ। गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ। हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरि विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ। यो फिल्म घाटा नजानेमा ढुक्क छौँ।’

साथै अस्ट्रेलियाबाट चलचित्र प्रदर्शनबाट उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने फिल्म टिमले जनाएको छ।

नायक खड्काले पहिलोपटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन लागेको बताए।

उनले भने, ‘अक्सर चलचित्रको वर्ल्ड प्रिमियर शो काठमाडौँका महँगा हलमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रिटीका बिच गर्ने चलन छ। तर जुम्लाकै परिवेश समेटिएको फिल्म भएकाले प्रकाशको वर्ल्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौँ।’

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बिचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवर्द्धनको विषयलाई चलचित्रले जोड दिएको लेखक सुवेदीले बताए। चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन्। दिनेश राउतको निर्देशन रहेको चलचित्रमा खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell