
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलमाथि फराकिलो जित निकालेको छ। स्टेड पिअरे मौरेमा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली लिलमाथि ७-१ गोलको फराकिलो जित निकालेको हो।
पीएसजीको जितमा किलियन एम्बाप्पेल ह्याट्रिक गर्दा नेइमारले २ गोल तथा लियोनल मेस्सी र अचर्फ हकिमीले समान १ गोल गरे। मेस्सीको पासमा खेलको ८ सेकेन्डमै एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल मेस्सीले २७ औं मिनेटमा मेन्डसको पासमा गरे। त्यस्तै ३९ औं मिनेटमा हकिमीले नेइमारको पासमा र ४३ औं मिनेटमा नेइमारले नै गोल थप्दा पहिलो हाफमा पीएसजी ४-० ले अघि रह्यो।
दोस्रो हाफमा पीएसजीले तीन गोल थप्न सफल भयो। ५२ औं मिनेटमा नेइमारले हकिमीको पासमा गोल गर्दा ५४ औं मिनेटमा घरेलु टोलीका जोनाथन बम्बाले गोल सान्त्वना गोल फर्काए। त्यस्तै ६६ र ८७ औं मिनेटमा एम्बाप्पेले नेइमारको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे। र, पीएसजीले ७-१ गोलको फराकिलो अन्तरले जित निकाल्न सफल भयो।
जितसँगै लगातार तीन खेलमा जित निकालेको पीएसजी ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ।