PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा खेलाडी : फुटबल राजनीतिमा 'पर्ख हेर' र 'काउन्टर'



मुकुन्द घिमिरे

बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा खेलाडी : फुटबल राजनीतिमा 'पर्ख हेर' र 'काउन्टर'

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरिसकेको छ। पछिल्लो खेलमा इण्डोनेसियासँग खेल्दा भन्दा यसपटक नेपाली टोलीमा ठूलै परिवर्तन छन्। उक्त प्रतियोगितामा गएका म्यानेजर, प्रशिक्षक तथा अन्य अफिसियल पनि फरक छ। सो प्रतियोगिता अघि प्रशिक्षकसँगको टसलमा बाहिरिएका ११ खेलाडी पनि टोलीमा फर्किएका छन्। खासमा भन्दा त्यसपछि एन्फाको नेतृत्व नै फरक छ।

उसो त नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नै हुन्। उक्त प्रतियोगितापछि उनी तीन महिनाको विदामा बसेका थिए, स्वास्थ्यलाई कारण देखाउँदै। उनी विदामै रहँदा यता एन्फाको कार्यसमितिको दोस्रो बैठकले एउटा महत्वपूर्ण निर्णय गर्‍यो : राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाइँलाई नियुक्त। त्यसअघि बसेको बैठकले प्रशिक्षक अलमुताइरीसँगको विवादमा टोलीबाट बाहिरिएका खेलाडीलाई बोलाउने निर्णय गरेको थियो।

खेलाडीको ‘अल्पकालीन जित’?

एसिया कप छनोटको बन्द प्रशिक्षणमा खेलाडी र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबिचको विवाद प्रष्ट देखियो। उनको क्याम्पबाट बाहिरिएका खेलाडीले व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको, अपमानजनक व्यवाहार गरेको, पटकपटक क्याम्प छाडेर जान भनेकोलगायतको आरोप लगाएका थिए। उनीहरुलाई बाहिरै राखेर अलमुताइरीले अन्य खेलाडीलाई टिममा बोलाउँदै एसिया कप छनोट खेलाए।

यता, एन्फाको चुनावी साधारण सभापछि नेतृत्वमा पंकजविक्रम नेम्बाङ आए। एक त अलमुताइरीसँग पहिल्यै राजीनामा प्रकरणमा विवादमा चुलिइसकेका नेम्बाङ, त्यसमा पनि खेलाडी-प्रशिक्षक प्रकरणमा सुरुबाटै छानविनका माग राखिरहेका व्यक्ति न उनी। अलमुताइरीले त सार्वजनिक माध्यमबाटै अध्यक्षमा कर्माछिरिङ शेर्पा नदोहोरिए नेपालमा नरहने बताइसकेका थिए। तर, सबैकुरा अलमुताइरीको अनुकूल भएन। नेतृत्वमा आए नेम्बाङ।

उनी नेतृत्वमा आएसँगै बसेको पहिलो कार्यसमितिको बैठकले अलमुताइरीसँगको विवादमा परेका खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो। फुटबलको विश्वव्यापी नियम अनुसार खेलाडी कसलाई क्याम्पमा बोलाउने भन्ने अधिकार प्रशिक्षककै क्षेत्राधिकार भित्र हुन्छ। तर, एन्फा नेतृत्वले 'असामान्य अवस्था' भन्दै यो निर्णय गरेको स्पष्टीकरण दिएको छ।

'सामान्य परिस्थितिमा सबै खेलाडीको विषय प्रशिक्षकको क्षेत्राधिकारको निर्णय हुन्छ। तर तपाईँ हामी सबैलाई थाहा छ कि यो अवस्था सामान्य अवस्था थिएन,' त्यसबेला महासचिव किरण राईले भनेका थिए, 'संक्रमणकालिन अवस्थामा मुख्य प्रशिक्षक र खेलाडीबिचमा विवाद भइसकेपछि संक्रमणकालिन अवस्था एन्फाको कार्यसमितिले हस्तक्षेप गरेर विशेष निर्णय गर्नुपर्ने हुन्थ्यो र त्यही विषेश निर्णयको रुपमा बुझ्नुहुन अनुरोध गर्दछु।'

यता, कार्यसमितिको पहिलो बैठकले महासचिव राईलाई अलमुताइरीसँग समन्वय गर्न जिम्मेवारी दिएको थियो। यसै क्रममा पनि विभिन्न ‘कन्ट्रोभर्सी’हरु भने बाहिर आए। प्रशिक्षक अलमुताइरीले एन्फाको पत्रको जवाफ नदिएको खबर सञ्चारमाध्यममा आएपछि अलमुताइरीले विज्ञप्ति नै जारी गर्दै आफूले पहिला पत्र नपाएको र पछि पत्र पाए पनि त्यसमा जवाफमा लागि समयसीमा नतोकिएको दाबी गरेका थिए। साथै बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अञ्जन विष्ट र तेज तामाङलाई समेट्दै खेलाडीको सूची अलमुताइरीले पठाएको जनाइएको थियो। तर, एन्फाको दोस्रो कार्यसमितिको बैठकले ‘एनआरएन’ प्रदीप हुमागाइँलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी दियो। जसले अलमुताइरीको क्याम्पमा नपरेका सबै खेलाडीलाई बोलाउँदै अभ्यास सुरु गरिसकेका छन्। यद्यपि, उनी बंगलादेशसँगको मैत्रीपूर्ण सिरिजका लागिमात्र कार्यवाहक प्रशिक्षक हुनेछन्।

हुमागाइँको आगमनसँगै टिमबाट बाहिरिएका खेलाडीको ‘अल्पकालीन जित’ त भएको देखिन्छ तर अझै प्रशिक्षकमा अलमुताइरी नै भएकाले दीर्घकालीन रुपमा यो विवादको समायोजन कसरी हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

अलमुताइरीको पोजिसन, एन्फाको काउन्टर

सामाजिक संजालमा पछिल्लो समय अलमुताइरी रणनीतिक कुरामात्र प्रस्तुत गरिरहेका छन्। चुनावमा नेम्बाङले जितेलगत्तै नेपाल नफर्किने संकेत गरेर ‘स्टाटस’ लेखे पनि तुरुन्तै उक्त पोस्ट हटाएका थिए उनले। यद्यपि, अघिल्लो महिना लाइभमा आएर आफूले एन्फासँग करार गरेकाले नेतृत्वमा जो आए पनि आफूलाई फरक नपर्ने बताएका थिए। टिमबाट बाहिरिएका खेलाडीको सन्दर्भमा पनि राम्रो खेले उनीहरु टिममा पर्ने बताएका थिए उनले।

नेपाली राष्ट्रिय टोलीका खेलाडी धमाधम बाहिरिन थालेपछि अलमुताइरीले खेलाडी जोगाउन नेपाल सरकारलाई आग्रह गर्दै फेसबुक स्टाटस लेखेका थिए। त्यसै सन्दर्भमा नेपाल सुपर लिगको फ्रेन्चाइजी विराटनगर सिटी एफसीका कप्तान रजिन धिमालले एनएसएल हुन नदिन उनको हात रहेको र यसमा राष्ट्रिय टोलीका खेलाडीलाई उनले अनुचित दवाब दिएकोसमेत आरोप लगाएका थिए। 

त्यसयता एन्फाका महासचिवले पठाएको पत्रको जवाफ अलमुताइरीले नदिएको भन्ने समाचार आएपछि खण्डन गर्दै 'एन्फाका स्रोत' आफूलाई बदनाम गर्न लागिपरेको र आफूले त्यो सहन नसक्ने भन्दै यसको विरुद्ध फिफा र एएफसीमा जाने धम्की समेत अलमुताइरीले सामाजिक संजालबाटै दिइसकेका छन्।

साथै उनले आफ्नो सम्झौता अवधिभर नेपालमै रहन चाहेको पनि स्पष्ट पारेका छन्।

'नेपालको राष्ट्रिय टोलीलाई बलियो बनाउन मैले सँधै मेरो हुनसक्नेसम्मको सामर्थ्य लगाएको छु। र, मेरो सम्झौता रहुन्जेल काम गर्न चाहना छ' उनले विज्ञप्तिमा भनेका छन्।

त्यसयता सामाजिक संजालमा भारत निलम्बनमा परेपछि दक्षिण एसियाली फुटबलको विकासमा भारतको उपस्थिति चाहिने आशयमा स्टाटस राखेका छन् अलमुताइरीले।

हुमागाइँलाई कार्यवाहक प्रशिक्षकमा राखेर एन्फाले अलमुताइरी नचाहेको सन्देश दिन खोजेको देखिन्छ। तर यसमा सिधा हस्तक्षेप गरेर एन्फा कतार एफएलाई चिड्याउन पनि चाहँदैन। अलमुताइरीले नेपालमा काम गर्न इच्छुक रहेको बताइरहँदा एकतर्फ सम्झौता रद्ध गर्न एन्फाका लागि महँगो पर्नेछ।

टास्क फोर्समाथिको प्रश्न

अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले खेलाडी प्रशिक्षक विवादबारे एन्फालाई दिएको सुझावमा एसिया कप छनौट प्रतियोगिता पछि कतार एफएसंगको सहयोगलाई निरन्तरता दिन र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो।

एन्फाले बैशाख २५ गते नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा पनि थिए।

अलमुताइरीले टास्क फोर्सको गठनको वैधानिकतालाई लिएर पनि प्रश्न उठाएका छन्। उनले आफ्नो विज्ञप्तिमा भनेका छन्: सुरुवातबाटै टास्क फोर्सको गठनको वैधानिकताबारे प्रश्न उठाउँदै आएको थिएँ। यद्यपि इमान्दारिताका लागि म मौन थिएँ।

उनले कुनै पनि पत्र या प्रश्नको जवाफ आफ्नो जेनेभामा रहेको वकिलसँग समन्वय गरेर मात्र दिने बताएका छन्।

यता एन्फाका प्रवक्ता सुरेश शाहले अलमुताइरीसँग समन्वय गर्न महासचिवलाई जिम्मेवारी दिएको भन्दै छानविन प्रतिवेदन अध्ययन गरेर केही हुन्छ भन्ने आफूलाई लागेको बताए।

'उहाँसँग समन्वय गर्न एन्फाको कार्यसमितिले महासचिवलाई जिम्मेवारी दिएको छ। अहिले नै केही भनिहाल्न चाँडो हुन्छ। उहाँहरु प्रक्रियामा हुनुहुन्छ,' उनले भने,'छानविन प्रतिवेदन अध्ययन गरेर केही हु्न्छ भन्ने लाग्छ।'

हुमागाइँको इन्ट्रीमा प्रश्न

अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई टिममा फिर्ता बोलाउने एन्फाको कार्यसमितिको बैठकले ठाडो निर्णय गर्‍यो। तर, अलमुतारीसँग यसमा समन्वय मिल्न नसक्दा समस्या भएको देखिन्छ। अलमुताइरीले आफ्नो विज्ञप्तिमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको महासचिवबाट जानकारी मिलेको र यो मैत्रीपूर्ण खेललाई लिएर अगस्ट ८ मा पत्र पठाएको जनाएका छन्।

तर, त्यसपछि बसेको एन्फाको कार्यसमितिको बैठकले हुमागाइँलाई कार्यावहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दियो। अझ नेपालमा अन्य सफल प्रशिक्षक भइरहेको अवस्थामा हुमागाइँलाई भित्र्याउनुले पनि फुटबल बृत्तमा प्रश्न उठेको छ।

एन्फा प्रवक्ता शाहले भने नयाँ नेतृत्व आएको २ महिनामा के गर्ने भन्ने बारेमा छलफल हुँदा मैत्रीपूर्ण खेलबारे छलफल भएको र धेरै जना प्रशिक्षकको नाम छलफल भएर हुमागाइँको नाम कार्यसमितिले पारित गरेको दाबी गरेका छन्।

यता प्रशिक्षकको जिम्मेवारी पाएका हुमागाइँले फुटबलको विवादबारे जानकारी नभएको भन्दै यसबारे बोल्न नचाहेको बताए। एएफसी ए लाइसेन्स कोचिङ गरेका उनले अमेरिकामै प्रशिक्षण गर्दै आएका छन्। उनले आफूले बंगलादेशसँगको खेल जित्ने लक्ष्य लिएको र यो अवसरलाई 'सरप्राइज' र एउटा यात्राको भागका रुपमा लिएको बताएका छन्। प्रशिक्षक हुमागाइँलाई ल्याएर खेलाडीलाई टिममा फर्काउँदै एन्फा नेतृत्वले आफ्नो पहिलो कार्यसमितिको निर्णयलाई सदर गरेको छ भने अलमुताइरीलाई काउन्टर दिएको देखिन्छ।


प्नशिक्षणमा रहेको नेपाली टिम

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ

मिडफिल्डरः संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जिउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन बिस्ट

फरवार्डः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell