काठमाडौं : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएका छन्।
सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक संचालनका लागि काम थालिएको छ।
सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ। मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन्।
यसैबिच अत्याधिक बर्षाका कारण दानास्थित ज्ञानप्रकाश माविमा भेलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताए। शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको थियो।