PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

कम्युनिस्ट चीनमा गैर कम्युनिस्ट मन्त्री : जन कंग्रेसमा प्रतिनिधित्व गर्ने यी ८ दल, प्रतिबन्धित साना कम्युनिस्ट



विधुर ढकाल

कम्युनिस्ट चीनमा गैर कम्युनिस्ट मन्त्री : जन कंग्रेसमा प्रतिनिधित्व गर्ने यी ८ दल, प्रतिबन्धित साना कम्युनिस्ट
Photo : CGTN

काठमाडौं : जनवादी गणतन्त्र चीनको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले गर्दै आएको छ। एकलौटी रुपमा सीपीसीले नेतृत्व गरिरहेको चीनमा केही गैर कम्युनिस्ट तथा सीपीसी इतरका पार्टीहरु पनि छन्।

सीपीसीको २० औं राष्ट्रिय कंग्रेस यसै वर्ष शरदमा हुँदैछ। कंग्रेसबाट राष्ट्रपति सि चिनफिङ पुन: दोहोरिने सम्भावना छ। एक दशकमा दुई पटक हुने सीपीसीको ठूलो पर्वको रुपमा रहेको कंग्रेसमा केही मन्त्रीहरु भने सहभागी हुने छैनन।

यो कंग्रेसमा पार्टीको केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा अनुशासन आयोगका सदस्यसमेत रहेका सिआओ याछिङ सहभागि हुने छैनन्। उनी तीन साता अगाडिसम्म चीनको मन्त्रीको हैसियतमा थिए। २०२० अगस्ट ११ मा मन्त्री बनेका उनी २८ जुलाईमा बर्खास्तीमा परे। जुलाई २८ मा चीनको भ्रष्टाचार विरोधी राष्ट्रिय अनुगमन आयोग र पार्टीकै अनुशासन आयोगले अनुसन्धानको दायरामा राखेपछि उनी मन्त्रीबाट बर्खास्त भए। योसँगै उनी कंग्रेसमा सहभागी हुने छैनन्।

त्यस्तै रक्षामन्त्री वेइ फङह पनि कंग्रेसमा सहभागीको सूचीमा छैनन्। यद्यपि, उनी चिनियाँ जनमुक्ती सेना (पीएलए)बाट आउन सक्ने अनुमान गरिएको छ। तर, पीएलएले अझै प्रतिनिधिको सूची तयार गरिसकेको छैनन्। अर्का एक मन्त्री भने सीपीसीको सदस्य नै होइनन्। उनी लि ख्छ्याङ सरकारका गैर कम्युनिस्ट मन्त्री हुन्। युनाइटेड फ्रन्टमा रहेका तर, सीपीसी बाहिरका दलबाट पनि चीनमा तीन जना मन्त्री भएका छन्।

हुवाङ रनछिउ

हाल चीनको पारिस्थितिक तथा वातावरण मन्त्रालयको नेतृत्व हुवाङ रनछिउले गरिरहेका छन्। उनी सीपीसीका सदस्य होइनन्। उनलाई राष्ट्रपति सि चिनफिङले सन् २०२० को अप्रिलको अन्त्यतिर मन्त्री बनाएका हुन्।

सन १९७० को दशकमा भएको देशको सुधार तथा खुलापन पछि मन्त्री बन्ने तेस्रो गैर कम्युनिस्ट रहेको चाइना डेलीले जनाएको छ।

चीनको संसदको रुपमा रहेको नेशनल पिपल्स कंग्रेसको स्थायी कमिटीले उनलाई मन्त्री बनाएको हो। उनी हुनान प्रान्तका स्थानीय हुन्। सिचुवान प्रान्तमा ३० वर्ष अध्ययन तथा काम गरेका उनी २०१६ मा बेइजिङ सरुवा भएका थिए। त्यतिबेला उनलाई वातावरण संरक्षण मन्त्रालयको उपमन्त्री बनाइएको थियो। २०१८ मा यो मन्त्रालय पारिस्थितिक तथा वातावरण मन्त्रालय बनाइएको थियो।

इन्जिनियरिङमा पीएचडी गरेका ५८ वर्षका हुवाङ २०१७ मा जिउसान सोसाइटी नामको पार्टीको उपाध्यक्ष बनेका थिए।

जिउसान सोसाइटी सन् १९४६ मा स्थापना भएको पार्टी हो। चीनमा रहेका ८ वैधानिक साना दल मध्ये यो एक हो। यो पार्टीबाट प्रतिनिधि चीनको पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेसमा सहभागी हुन्छ। सन् १९४४ मा डेमोक्रेसी एण्ड साइन्स फोरमको रुपमा अनौपचारिक रुपमा स्थापना भएको यो पार्टीको नाम दोस्रो सिनो-जापान युद्धको विजयको मितिलाई झल्काउँछ।

यो पार्टी चीनको संसदको रुपमा रहेको पिपल्स कंग्रेसमा ६४ सिटसहित दोस्रो ठूलो दल हो। यस पार्टीमा विज्ञान प्रविधि तथा शिक्षा क्षेत्रका विज्ञहरु सदस्य छन्। यस पार्टीका अध्यक्ष वु वेइहुवा जनकंग्रेसको स्थायी समितिको उपाध्यक्ष छन्।

वान कङ्ग

त्यस्तै कम्युनिस्ट चीनमा मन्त्री हुने पहिलो गैर कम्युनिस्ट राजनीतिज्ञ हुन् वान कङ्ग। उनी सन् २००७ मा अप्रिल देखि २०१८ मार्चसम्म चीनको विज्ञान तथा प्रविधि मन्त्री रहेका थिए।

जर्मनीको औदी कर्पोरेसनमा अटोमोवाइल इन्जिनियरको रुपमा काम गरेका उनी सांघाईको थोङ्ची विश्वविद्यालयका अध्यक्षसमेत भएका थिए। 

उनी चि कोङ पार्टीका उपाध्यक्षसमेत थिए। यो पार्टी सन् १९२५ मा स्थापना भएको पार्टी हो। विदेशबाट फर्किएका चिनियाँहरुले खोलेको यो पार्टीमा विज्ञहरु रहेका छन्। उनी हु जिन्ताओको सरकारमा मन्त्री भएका सिको पहिलो कार्यकालमा पनि मन्त्री भएका हुन्।

सन् २००५ मा सीपीसीको केन्द्रीय कमिटीले सबै स्थानीय सरकार तथा विभागहरुलाई गैरकम्युनिस्ट तथा गैरराजनीतिक व्यक्तिहरुलाई पनि नेतृत्वका लागि खुला गर्न निर्देशन दिएको थियो।

चन चु

चिनियाँ सरकारमा मन्त्री बन्ने अर्का गैर कम्युनिस्ट मन्त्री हुन्। उनी सन् २००७ जुनमा चीनको स्वास्थ्य मन्त्री भएका थिए।

उनी त्यहाँको चाइनिज पिजेन्ट्स एण्ड वर्करस् डमोक्रेटिक पार्टीका अध्यक्षसमेत हुन्। चीनको रेडक्रस सोसाइटीका अध्यक्ष, चाइनिज मेडिकल एसोसियसनका अध्यक्ष, युरोपियन अमेरिकन स्टुडेन्ट एसोसियसनका कार्यकारी निर्देशक रहिसकेका उनी चीनको संसदको स्थायी समितिका उपाध्यक्षसमेत हुन्।

पेरिस डिडेरोट युनिभर्सिटीबाट पीएचडी तथा पोस्ट डक गरेका उनी सांघाई इन्स्टिच्युट अफ हेमाटोलोजीका अध्यक्ष तथा चाइना ह्युमन जोनोम सेन्टरका कार्यकारी निर्देशकसमेत भइसकेका थिए।

उनी अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सका फरेन एसोसियट, अमेरिकी इन्स्टिच्युट अफ मेडिसिनका र फ्रेन्च एकेडेमी अफ साइन्सका विदेशी सदस्य तथा वर्ल्ड एकेडेमी अफ साइन्सका सदस्यसमेत हुन्। उनी युरोपियन एकेडेमी अफ आर्ट, साइन्स एण्ड ह्युमानिटिजका सदस्यसमेत हुन्।

उनी फ्रान्सको उच्च सम्मान पाउने गैर फ्रान्सेली पहिलो व्यक्ति हुन्। चीनमा गैर कम्युनिस्ट मन्त्री हुने दोस्रो व्यक्ति चनले मन्त्री काओ छियाङलाई प्रतिस्थापन गरेका थिए। काओ चनको समालेको मन्त्रालयमा उपमन्त्रीको रुपमा घटुवा भएका थिए।

सन् १९४९ पछि सिपीसीको नेतृत्वमा बनेको सरकारमा केही गैर कम्युनिस्टलाई मन्त्री बनाइएको भए पनि त्यतिबेला भएको दक्षिणपन्थी आन्दोलन पछि उनीहरुलाई हटाइएको थियो।

यी हुन चीनका वैधानिक पार्टी

चीनमा सीपीसी बाहेकका ८ वैधानिक पार्टी छन्। चीनको पिपल्स जनंक्रेसका २ हजार ९८० सिट मध्ये सीपीसीसँग २ हजार ९१ सदस्य छन्। बाँकी अन्य ८ दलका सदस्य छन्। त्यस्तै जनकंग्रेसको स्थायी समितिका १७५ सदस्य मध्ये ११८ जना सीपीसीसँग छ। बाँकी अन्यसँग। यी सबै दलको संयुक्त गठबन्धन बनेको छ- युनाइटेड फ्रन्ट

जसमध्ये चाइना चि कोङ पार्टी एक हो यो। यो पार्टीको सिद्धान्त विदेशमा रहेका चिनियाँहरुको पक्षपोषण गर्छ। एनपीसीमा यो पार्टीका ३८ र स्थायी समितिमा ३ सदस्य छन्। यस पार्टीका अध्यक्ष वान काङ चीनको मन्त्री बनिसकेका छन्।

त्यस्तै एनपीसीमा ५४ सदस्य र स्थायी कमिटीमा ७ सदस्य रहेको अर्को पार्टी हो मन्त्री भइसकेका चन नेतृत्वको चाइनिज पिजेन्टस् एण्ड वर्कर्स डेमोक्रेटिक पार्टी।

मन्त्री बनिसकेका ह्वाङ उपाध्यक्ष रहेको जिउसान सोटाइटीसँग एनपीसीमा ६३ र स्थायी कमिटीमा ४ जना सदस्य छन्। यसका अध्यक्ष स्थायी कमिटीका उपाध्यक्षसमेत हुन्।

एनपीसीमा ५७ र स्थायी कमिटीमा ९ सदस्य रहेको चाइना डेमोक्रेटिक लिग अर्को वैधानिक पार्टी हो। यसका अध्यक्ष दिङ चोङ्ली स्थायी समितिका उपाध्यक्ष छन्। उनी चाइना एकेडेमी अफ साइन्सका उपाध्यक्ष भइसकेका व्यक्ति हुन्।

त्यस्तै, चाइना नेशनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसियसनमा संसदमा छ। उसका एनपीसीमा ५७ र स्थायी कमिटी ३ सदस्य छन्। यसका अध्यक्ष हाओ मिङचिन स्थायी कमिटीका उपाध्यक्ष हुन्।

चाइना एसोसिएसन फर पर्मोटिङ डेमोक्रेसी अर्को राजनीतिक दल हो। संसदमा ५८ र स्थायी समितिमा ७ सदस्य रहे यस पार्टीका अध्यक्ष प्राध्यापक चाइ ताफङ हुन्। उनी पनि स्थायी कमिटीका उपाध्यक्ष छन्।

संसदमा १३ सदस्य र स्थायी समितिमा ३ सदस्य रहेको अर्को पार्टी छ ताइवान डेमोक्रेटिक सेल्फ गभर्मेन्ट लिग। ताइवानमा कुमिङतानले गराएको नरसंहारबाट बचेँका ताइवानिज कम्युनिस्ट पार्टीका सदस्यहरुले यो पार्टीलाई हङकङमा स्थापना गरेका हुन्।  यो चीनको सबैभन्दा सानो पार्टी हो। यसले ताइवान एकीकरणको वकालत गर्छ। यसकी अध्यक्ष सु हुई छन्।

चीनको संसदमा ४४ सदस्य र स्थायी समितिमा ६ सदस्य रहेको अर्को पार्टी हो रिभोलुसनरी कमिटी अफ चाइनिज कुमिङताङ।

यो पार्टीको यो पार्टीको सिद्धान्त सन यात सेनको थ्रि प्रिन्सिपल र चीनको एकीकरण रहेको छ। यस पार्टीका अध्यक्ष वान इसियाङ हुन्। उनी चीनको संसदको स्थायी समितिका उपाध्यक्ष छन्। उनी स्थानीय जन अदालतको उपाध्यक्ष हुँदै कुपेइको उच्च अदालत र चीनको सर्वोच्च जनअदालतको उपाध्यक्षसमेत भइसकेका छन्।  यी सबै पार्टीको गठबन्धन युनाइटेड फ्रन्टको रुपमा रहेको छ। यसको स्थापना माओ चतोङले १९४६ मा स्थापना गरेका थिए।

माओले त्यतिबेला जापान विरोधी समूह तथा राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउनका लागि यो फ्रन्ट बनाएका थिए। पछि माओले यसलाई कुमिङतान, सीपीसी (लेनिनवादी) र रेड आर्मी विरुद्ध पनि प्रयोग गरे। 

यी हुन चीनमा प्रतिबन्धित पार्टी

सीपीसी (माले) चीनमा प्रतिबन्धित पार्टी हो। १९७६ मा स्थापना भएको यो पार्टीलाई सीपीसीले प्रतिक्रान्तिकारी कम्युनिस्ट पार्टीको संज्ञा दिन्छ। रेड गार्डका विभिन्न समूह सहभागी यो पार्टीले 'ग्याङ अफ फोर'का सदस्यलाई पक्राउ गर्नु गैरकानुनी मान्छ र सीपीसीको नेतृत्वलाई संशोधनवादीको संज्ञा दिन्छ।

ग्याङ अफ फोरमा माओकी पत्नी जियाङ छिङ, झाङ चुनछियाओ, याओ वेनयुआन र वाङ होङवेनको समूह हो। चीनको सांस्कृतिक क्रान्तिका समय अगाडि आएको समूह हो। यो समूहले त्यतिवेला सीपीसीको कमाण्ड आफ्नो नियन्त्रणमा लिएको थियो। पछि उनीहरुलाई गम्भिर अपराध र कम्युनिस्ट पार्टी विरुद्ध प्रतिक्रान्ति गरेको आरोप लाग्दै आएको छ। उनीहरुले सांघाई, जचियाङ, कान्टोन र युनानमा सैन्य विद्रोहको प्रयास गरेका थिए।

त्यस्तै सीपीसी (मजदुर तथा किसान मुक्ति सेना) सन् १९७६ मा रेड गार्डबाट अलग भएर केही नेताहरुले खोलेको पार्टी हो। यो पार्टीलाई पनि प्रतिबन्ध लगाइएको छ। उनीहरुले जनयुद्धका बेला बनाइएका किल्ला प्रयोग गरेर मुक्ति सेना गठन गरेको थियो। यो पार्टीले सीपीसीको नयाँ पार्टी र तङ स्याओफिङको विचारलाई संशोधनबादी आरोप लगाउँदै सीपीसी पुन:गठनको घोषणा गरेको थियो।

त्यस्तै डमोक्रेसी पार्टी अफ चाइना पनि प्रतबन्धित पार्टी हो। २००७ मा स्थापना भएको यस पार्टीलाई २००८ मै प्रतिवन्ध लगाइएको थियो। त्यस्तै युनियन अफ चाइनिज नेशनालिस्ट पार्टी २००४मा स्थापना भएको पार्टी हो। यो पार्टी ताइवानको पान-ब्लु गठबन्धनको सदस्य हो। यो पार्टीलाई चीनको मुख्य भूमिमा २००७ मा प्रतिबन्ध लगाइएको हो।

त्यस्तै २००८ मा स्थापना भएको माओवादी कम्युनिस्ट पार्टी माथि पनि प्रतिबन्ध लागेको छ। यो पार्टीले चीन पुजिवादमा फसेको र सीपीसीले पुजिवादीको संरक्षण गरेको भन्दै सर्वाहारा वर्गको अधिनायकवाद स्थापनाको नारासहित स्थापना भएको पार्टी हो। यसका नेता मा हुओची सन् २००९ मा पक्राप परेका थिए। र उनलाई १० वर्ष जेल सजाय दिएर २०१९ मा रिहा गरिएको छ।

२००७ देखि २०१२ सम्म चीनको वाणिज्य मन्त्री रहेका पो सिलाईले स्थापना गरेको चाइनिज कन्स्टिच्युसनल पार्टी माथि पनि चीनमा प्रतिबन्ध लागेको छ।

सीपीसीको पोलिटव्युरो, छोङछिङको पार्टी सचिवसमेत भइसकेका उनले 'माओ मोडल' खोज्दै नयाँ पार्टी गठन भयो। यो पार्टीले पोलाई आजीवन अध्यक्षमा निर्वाचित गर्‍यो। उनले सीपीसीले संविधानको उल्लंघन गरेको आरोप लगाएको थियो। पो सीपीसीमा सिका प्रतिस्पर्धी थिए। उनी सी महासचिव भएपछि सीपीसीबाट अलग भए। यो पार्टी सोही वर्ष डिसेम्वरमा प्रतिबन्धमा पर्‍यो।

त्यस्तै, चाइनिज प्रोलेटेरियन रिभोलुसनरी सेन्ट्रल कमिटीमाथि पनि प्रतिबन्ध लागेको छ। चीनमा भएको सांस्कृत क्रान्तिका पार्टी नेताहरुले यो पार्टी नेतृत्व चाओ छुनले गरेका थिए। यो पार्टीले अनलाइनमा उत्तेजक गतिविधि गरेको आरोपमा चीन सरकारले प्रतिबन्ध लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell