
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध आतंकवाद मुद्दा लगाइको छ। अघिल्लो हप्ता समर्थकहरूबिच आक्रोशित भाषणका क्रममा प्रहरी र एक महिला न्यायाधीशलाई धम्की दिएको आरोपपछि खानविरुद्ध आतंकवाद मुद्दा लगाइएको हो।
खानले गत अप्रिलमा संसद्मा विश्वासको मतमा नपाउँदा पदच्युत भएका थिए। उनी पदमा फर्कन पछिल्लो समय सरकार विरोधी प्रदर्शनको नेतृत्व गर्दै आएका छन्। जसकारण देशमा राजनीतिक तनाव बढ्दै गएको बताइएको छ।
यद्यपि, खान पक्राउ भन परेका छैनन्। उनले मुद्दाबारे कुनै प्रतिकृया पनि दिएका छैनन्। खानलाई पक्राउ गर्नबाट प्रहरीहरुलाई रोक्न समर्थकहरुले उनको घर घरेको खानको राजनीतिक पार्टी तथा पाकिस्तानको प्रतिपक्षी दल तेहरीक-ए-इन्साफ पार्टी (पीटीआई)ले पोस्ट गरेको अनलाइन भिडियोहरूमा देखिएको छ।
खानले शनिवार इस्लामाबादमा दिएको भाषणपछि उनीविरुद्ध आतंकवादको मुद्दा लगाइएको हो। उक्त भाषणमा उनले आफ्ना एक नजिकका सहयोगीलाई पक्राउपछि यातना दिएको आरोप लगाउँदै प्रहरी अधिकारी र एक महिला न्यायाधीशलाई मुद्दा हाल्ने वाचा गरेका थिए।
पाकिस्तानको कानुनी प्रणाली अन्तर्गत प्रहरीले अभियुक्त विरुद्ध न्यायाधीशकोमा रिपोर्ट (एफआइआर) फाइल गर्छ र न्यायाधीशले अनुसन्धानलाई अगाडि बढाउन अनुमति दिन्छन्। सामान्यतया, प्रहरीले न्यायाधीशको अनुमतिपछि आरोपितलाई पक्राउ गरी सोधपुछ गर्छ।
खानविरुद्धको रिपोर्टमा म्याजिस्ट्रेट न्यायाधीश अली जावेदको बयान समावेश छ। जसमा जावेदले आफू इस्लामाबादको र्यालीमा सहभागी रहेको र खानले पाकिस्तानका प्रहरी महानिरीक्षक तथा अर्का न्यायाधीशको आलोचना गरेको सुनेको बताएका छन्।
प्रहरी अधिकारी र न्यायाधीशलाई धम्की दिएको आरोपका कारण खानले धेरै वर्ष जेल सजाय भोग्न सक्ने बताइएको छ। तर, हालै सरकारविरुद्धको अभियानमा उनीमाथि लगाइएका अन्य अभियोगमा पनि उनी पक्राउ परेका थिएनन्।
त्यस्तै, शनिवार राति इस्लामाबादमा भएको र्याली पछि पाकिस्तानको मिडिया नियामक निकायले खानको सम्बोधन प्रत्यक्ष प्रसारण गर्न टेलिभिजन च्यानलहरूलाई प्रतिबन्ध लगाएको छ।