
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा लिभरपुलमाथि २-१ गोल जित निकाल्दै सिजनको तेस्रो खेलमा आएर घरेलु टोली युनाइटेडले सिजनको पहिलो जित निकालेको हो।
खेलको १६ औं मिनेटमा एन्थोनी एलाङ्गाको पासमा जोर्डन साञ्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडलाई दोस्रो हाफमा मार्कस रासफोर्डले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले खेलको ५३ औं मिनेटमा एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए। अर्कोतर्फ ८१ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।
जितसँगै सुरुवाती दुई खेलमा पराजय ब्यहोरेर अंकतालिकाको पुछारमा पुगेको युनाइटेडलाई राहत मिलको छ। प्रशिक्षक एरिक टेन ह्याग आएयता प्रिमियर लिगमा युनाइटेडले पहिलो जित निकालेको हो। उनले नियमित कप्तान ह्यारी म्यागुएर र क्रिस्टियानो रोनाल्डोलाई बाहिर राख्दै सुरुवाती ११ बनाएका थिए। रोनाल्डो खेलको ८६ औं मिनेटमा मार्कस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए।
युनाइटेडले लिगमा पहिलो जित निकाल्दा लिभरपुल भने अझै पहिलो जितको खोजीमै रहने छ। यसअघिका दुई खेलमा लिभरपुलले बराबरीमा खेलेको थियो।