कास्की : माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन्। सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएका हुन्।
सो दिन बिहान ११ बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए। दिँउसो ३ बजे आमा मेलाबाट फर्किँदा उनी घरमा नभएपछि खोजतलास सुरु भएको थियो। तर निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म घर्तीमगर फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी माविका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बताए।
उनका अनुसार किशोर बेपत्ता भएको दिन दिउँसो १ बजेतिर छिमेकीले घरदेखि अन्दाजी पाँच किमी टाढा पोखरा-१९ लामाचौर चोकमा देखेको बताएका थिए। त्यसपछि भने उनको बारेमा केही जानकारी प्राप्त भएको छैन। किशोरको साथमा रहेका मोबाइल, पैसा र पर्सलगायतका सामग्री पनि घरमै फेला परेको छ। विद्यालयमा संचालन भइरहेको परीक्षामा आइतबार घर्तीमगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो।
प्रधानाध्यापक पोखरेलले भने, ‘विद्यालयमा परीक्षा संचालन भइरहेकाले अनुपस्थित भएपछि घरमै गएर सोधपुछ गर्दा विद्यार्थी घर्तीमगर सम्पर्कविहीन भएको जानकारी पायौं। त्यसपछि विद्यालयले पनि धेरै ठाउँमा सम्पर्क गरेर खोजबिन गरे पनि फेला पार्न सकेका छैनौं। खोजीका लागि प्रहरी र गाउँपालिकामा समेत आग्रह गरेका छौं।’
किशोरको घरको आर्थिक अवस्था कमजोर रहेको छ। बाबुआमा सामान्य मजदुरी गरेर घर-व्यवहार चलाउँदै आएको र सन्तान हराएपछि आफन्तलगायत धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला नपरे पनि परिवार चिन्तामा परेको पोखरेलले बताए।
कम बोल्ने स्वभावको भए पनि किशोर अध्ययनसँगै घरायासी काममा पनि सहयोगी भावनाका थिए। उनी कक्षा ४ देखि सोही विद्यालयमा अध्यनन सुरु गरेका हुन्। विद्यालय र परिवारले हराएका किशोरको खोजीका लागि आग्रह गरेको छ। किशोरलाई कोही कसैले फेला पारेमा विद्यालय वा प्रहरीमा सम्पर्क गर्न आग्रह गरिएको छ।