PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साइबर क्राइमको ‘टार्गेट’मा महिला, अश्लिलतालाई आधार बनाएर लाखौंको ‘बार्गेनिङ’



भावना शर्मा

साइबर क्राइमको ‘टार्गेट’मा महिला, अश्लिलतालाई आधार बनाएर लाखौंको ‘बार्गेनिङ’
ILLUSTRATION : MATT HANEY / GLOBAL PRESS JOURNAL

काठमाडौं : कीर्तिपुर बस्ने सविता बुढाथोकी (नाम परिवर्तन) लाई एक अपरिचित फेसबुक आइडीबाट म्यासेज आउँछ। जब उनले त्यो म्यासेज खोलेर हेर्छिन् उनी छाँगाबाट खसे झैँ हुन्छिन्। त्यो अपरिचित फेसबुक आइडीबाट आएको त्यो म्यासेजमा उनकै नग्न फोटो हुन्छ।

त्यसपछि उनले त्यो फोटो हटाउन भन्छिन्। तर त्यो म्यासेज गर्ने व्यक्तिले फोटो हटाउँदैन। झन् उनीसँग ‘बार्गेनिङ’ गर्न थाल्छ, त्यहाँ पैसाको माग हुन थाल्छ। उनीसँग म्यासेन्जरबाट नै पाँच लाख रुपैयाँ मागिन्छ। उनी त्यो म्यासेज गर्ने मान्छेलाई चिन्दिनन्। तर बारम्बार रकम माग्दै उनीलाई ब्ल्याकमेल गरिन्छ। म्यासेन्जरमा आएको फोटो उनले केही समय अगाडि आफ्नो मोबाइलमा खिचेकी हुन्छिन्। तर त्यो व्यक्तिसँग आफूले नितान्त गोप्य रुपमा खिचेको फोटो कसरी पुग्यो भन्ने आश्चर्यमा उनी पर्छिन्।

त्यस व्यक्तिले उनलाई दिनरात ‘टर्चर’ दिन थाल्छ। पैसा नदिए फोटो सामाजिक संजालमा हाल्दिने भन्दै धम्की समेत दिन्छन्। त्यसपछि उनले यो घटना आफन्तलाई सुनाउँछिन्। त्यसपछि आफन्तकै सल्लाहमा उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा पुग्छिन्। सबै घटनाको बेलिबिस्तार लगाउँछिन्।

ब्यूरोको टोलीले अनुसन्धान थाल्छ। त्यसरी म्यासेज गर्ने युवकलाई प्रहरीले पक्राउ गर्छ। हेटौँडा घर भएका सलिभ ठकुरी भनिने २६ वर्षीय युवक निर्दोष ठकुरी पक्राउ पर्छन्। त्यसपछि सबिता झनैं छाँगाबाट खसे झैँ हुन्छिन्। पक्राउ परेका व्यक्ति उनले चिनेकै व्यक्ति हुन्छन्। उनकै घरमा बस्ने ती युवकसँग उनको दिदी भाइको सम्बन्ध हुन्छ। रगतको नाता नभए पनि सम्बन्ध प्रगाढ हुँदै गएपछि उनीहरूले तिहारमा टीका समेत लगाएर दिदीभाइको नाता बनाएका हुन्छन्। तर त्यही नाता सविताको लागि भारी पर्न गएको देखियो।

'उसले योजनाबद्ध रुपमा घटना गरेको देखिन्छ। यो पैसाको लागि सामाजिक संजाल प्रयोग गरेर बार्गेनिङ भएको थियो,' साइबर ब्युरोका एसपी पशुपति कुमार रायले भने।

केही वर्ष अगाडी सलिभ उनै सविताको घरमा भाडा बस्न पुगेका हुन्छन्। त्यही क्रममा उनीहरूको सम्बन्ध गाँसिएको हुन्छ। एक दिन सविताको मोबाइल बिग्रिएपछि बनाउन सलिभलाई दिएकी हुन्छिन्। त्यसपछि उनले 'दिदी'को मोबाइलमा आफ्नो जिमेल एकाउन्ट हालेका हुन्छन्। त्यसपछि सविताले खिचेको मोबाइलको फोटो सविताले थाहै नपाई सलिभको जिमेलमा गएर बस्ने गरेको हुन्छ। एक दिन उनले आफैँ हेर्न भन्दै खिचेको नग्न फोटो सुलभले दुरुपयोग गरेर उनीसँग बार्गेनिङ गर्न सुरु गरेका हुन्छन्।

यो घटनाको अभियुक्त अहिले पुर्पक्षको लागि थुनामा रहेका छन्।

साइबर क्राइमको ‘टार्गेट’मा महिला

आइतबार करिब यस्तै प्रकृतिको घटना लिएर अर्की महिला काठमाडौंको भोटाहिटीमा रहेको साइबर ब्यूरो पुगिन्। मकवानपुर घर भएकी २६ वर्षीय ती युवतीलाई पनि अपरिचित फेसबुक आइडीबाट यस्तै प्रकृतिको म्यासेज आएको थियो।

फेसबुकमा अपरिचित आइडीबाट उनलाई केही समय अघि म्यासेज आएको थियो। म्यासेजमा उनको केही फोटो समेत पठाइएको थियो। त्यसपछि अरूसँग यौन सम्पर्क गरेको भिडियो सार्वजनिक गरिदिन्छु भन्दै विभिन्न मागहरू राख्दै म्यासेज गर्ने गरिएको उनले प्रहरीलाई जानकारी दिएकी थिइन्। म्यासेजमा कहिले नग्न फोटो त कहिले भिडियो पठाउन समेत उताबाट माग हुन्थ्यो। त्यति मात्र होइन म्यासेजमा नै फलानो होटेलमा ‘सेक्स’ गर्न आउनु भन्दै बोलाउने समेत गरेका थिए। नआए अश्लील फोटो तथा भिडियो सार्वजनिक गर्ने धम्की समेत दिने गरिएको थियो।

तर, बोलाएको होटलमा ती व्यक्ति भने पुग्दैन थिए। धेरै पटक यसरी फेसबुकमा म्यासेज गरेर आजित भएपछि ती युवती उजुरी लिएर प्रहरी कहाँ पुगेकी थिइन्। यो घटनाको अनुसन्धान अहिले प्रहरीले गरिरहेको छ।

'यो एउटा अनलाइन सेक्सुअल एक्सप्लोइटेसन हो। अन्य केही बार्गेनिङ नगर्ने, नग्न फोटो र भिडिओ मात्र माग गर्दै धम्की दिने गिरोह पनि छन्,' एसपी रायले भने।

पछिल्लो समय साइबर ब्यूरोमा फेसबुक मार्फत हुने महिला माथिको घटना बढ्दै गएका छन्। ‘सेक्स’सँग जोडेर उनीहरूले महिलालाई ‘टार्गेट’ बनाएर आपराधिक गतिविधि गरिरहेका छन्। झापाकी एक २० वर्षीय युवती पनि अहिले यस्तै घटनाको शिकार भएकी छिन्। उनका दाइले बहिनी माथि भएको घटनाको उजुरी ब्यूरोमा दिएका छन्। ती युवतीलाई पनि फेसबुकमार्फत म्यासेन्जरमा यौन भिडियो, नग्न तस्बिर पठाउन भनिएको हुन्छ।

सुरुमा ती युवतीको म्यासेजमा अपरिचित फेसबुकबाट 'हाई' भन्दै म्यासेज आउँछ। उनले जवाफमा हजुर भन्छिन्। त्यसपछि उनीको अश्लील फोटो पठाइन्छ। उनले तुरुन्त डिलिट गर्न आग्रह गर्छिन्। उताबाट आफ्नो प्रस्ताव स्विकार गरे मात्र डिलिट गर्न बताउँछन्।

उनले प्रस्तावको बारेमा सोध्छिन्। त्यसपछि उताबाट नग्न भएर भिडियो गर्न प्रस्ताव गर्छन्। ती युवतीले घटना आफ्नो दाइलाई सुनाउँछिन्। दाइले बहिनीको तत्कालै फेसबुक एकाउन्ट डिएक्टिभ गर्छन्। त्यसपछि आफ्नो फेसबुकबाट त्यो एकाउन्टमा म्यासेज गरेर थर्काउँछन्। तर फेरि उस्तै प्रस्ताव आउँछ।

'यस्ता उजुरी अहिले धेरै आउन थालेका छन्। अपरिचित आइडीसँग कुरा गर्ने केही समयमा नै विश्वास गरेर आफ्ना सबै कुराको जानकारी दिने जस्ता कुरा गर्नु भएन।,' एसपी पशुपति रायले भने।

अहिले ब्यूरोमा दैनिक ३० वटा भन्दा बढी उजुरी आउने गरेका छन्। कुनै दिन त ६० वटासम्म उजुरी आउने गरेको छ। यसरी उजुरी हेर्दा सबैभन्दा धेरै पीडित महिला नै पर्ने गरेका छन्। चरित्र हत्यासँग जोडेर महिलालाई पीडित बनाउने गरेको एसपी पशुपति रायले बताए।

'उजुरी परेका मध्ये ६० प्रतिशत घटना पीडित महिला नै भएको देखिन्छ,' एसपी रायले भने।

बढ्दो साइबर क्राइम

देशभर भएका कुनै सामाजिक घटनादेखि अन्य घटनामा पनि महिलालाई नै पीडित बनाएर चरित्र हत्या गरिएका घटना थुप्रै छन्। पल शाह प्रकरणमा पनि पीडितको गोपनीयता र एकतर्फी रूपमा विभिन्न गाली गलौज, उत्तेजना तथा अफवाह फैलाउने गतिविधि गर्ने व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

पल प्रकरण लगायत गम्भीर प्रकृतिका अपराधिक गतिविधि प्रभावित पार्ने उद्देश्यले पीडितलाई नै मानमर्दन र चरित्र हत्या गरेको भन्दै 'नेपाल मिडिया' युट्युबका संचालक पनि पक्राउ परेका थिए। जथाभावी भ्रम फैलाएको भन्दै ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र 'विशाल नेपाल' युट्युबका २७ वर्षीय निशान चिलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

त्यस्तै, केही युट्युबमार्फत समेत महिलाको चरित्र हत्या गर्ने किसिमको सामाग्री राखिएपछि साइबर ब्यूरोले करिब दुई दर्जन युट्युबरलाई कारबाही गरेको थियो। प्रहरीले भटाभट कारबाही गर्न थालेपछि युट्युबमा महिलालाई पीडित बनाएर भिडियो सार्वजनिक गर्ने क्रम भने कम हुँदै गएको छ। तर, देशभर अन्य माध्यमबाट हुने साइबर क्राइम भने घटेको छैन।

गत फागुन २० गते अभिनेत्री रेखा थापाले युट्युब च्यानलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्दै आफूलाई युट्युबमार्फत विभिन्न गालीगलौज आएको उल्लेख गरेकी थिइन्। रेखा थापाकी दिदी तारा राणा उनका तर्फबाट उजुरी दिन पुगेकी थिइन्। थापाले उजुरी दिएको दिएको केही दिनपछि ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा र शर्मिला वाइवा समातिए थिए।

पछिल्लो समय साइबर क्राइमको घटना ह्वात्तै बढेर गएको छ। आर्थिक वर्ष २०७८/७९ मा  ४ हजार ६८६ वटा साइबर क्राइम सम्बन्धी उजुरी ब्यूरोमा परेको एसपी पशुपति रायले बताए। जबकि आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ९०६ वटा उजुरी परेको थियो। त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा झन् २ हजार ३०१ वटा मात्र उजुरी परेका थियो।

यसरी परेका उजुरीमध्ये प्रहरीले अनुसन्धान गरेर अदालतसम्म पुर्‍याउँछ। केही घटना भने प्रहरी र सरकारी वकिलमार्फत पनि मिलापत्र हुने गर्छ। गएको आर्थिक वर्षमा ८९ वटा साइबर क्राइमको मुद्दा अदालतमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ७६ वटा मुद्दा अदालत पुगेका थिए। समाजको डर, शिक्षाको अभाव लगायतको कारणले धेरै महिला त प्रहरी कहाँ उजुरी समेत गर्न पुग्दैनन्।

'पहिले धेरै साइबर क्राइमका घटनामा अभियुक्त धरौटीमा रिहा हुन्थे। अहिले त धेरैलाई अदालतले पुर्पक्षमा समेत पठाउने गरेको छ,' एसपी रायले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell