PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दाङमा टिप्परमा आगजनी, रुपन्देहीमा बन्दको प्रभाव सामान्य



पहिलोपोस्ट

दाङमा टिप्परमा आगजनी, रुपन्देहीमा बन्दको प्रभाव सामान्य

बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा दाङमा एउटा टिप्परमा आगजनी भएको छ। जिल्लाको घोराही-लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आज बिहानै आगजनी भएको हो।

जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहान साढे ४ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको उक्त टिप्परमा आगजनी भएको हो। टिप्पर चालक र सहचालकले प्रहरीलाई दिएको जानकारी अनुसार ५-६ जनाको समूहमा आएका व्यक्तीहरुले टिप्परमा आगो लगाएर भागेका थिए। आगजनीबाट टिप्परको अगाडिको भाग जलेर क्षति भएको छ। आगजनी भएको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्लाको तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन्।

रुपन्देहीमा बन्दको सामान्य प्रभाव

रुपन्देहीमा नेपाल बन्दको सामान्य प्रभाव परेको छ। बुटवलको नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन्। तर, निजी सवारी साधन र मालवाहक सवारी भने आशिंक रुपमा चलेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिलेसम्म जिल्लामा त्यस्तो कुनै अप्रिय घटना भएका छैनन्। जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, लुम्बिनी, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ। पसलहरू भने खुलेका छैनन्। चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बन्दकर्ताहरू भने सडकमा देखिएका छैनन्।

नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा चार पार्टीले आज नेपाल बन्दको घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell