
काठमाडौं : प्रतिनिधिसभाको बैठक एक सातापछिको लागि बोलाइएको छ। भदौ १३ गतेका लागि बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई कानुनमन्त्री गोबिन्द बन्दीले पेश गरेका थिए। विधेयक पेश भएपछि बैठक स्थगित भएको हो।
एक हप्ता लामो समय राखेर प्रतिनिधिसभाको बैठक बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आग्रहमा एक सातासम्म बैठक नबस्ने सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
एमालेको आज स्थायी कमिटीको बैठक बस्दै छ। भदौ ९ गते पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ।
यस्तै, भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ। एमालेले लगालग बैठक बोलाएपछि संसद्को बैठक हप्ता दिन पछि सारिएको हो।