
जापानी फिचर फिल्म ‘ड्राइभ माई कार’ यस वर्षकै उत्कृष्ट फिल्म घोषित भएको छ। र्युस्के हामागुची निर्देशित यस फिल्मले इन्टरनेशनल फेडेरेसन अफ फिल्म क्रिटिक्सबाट ‘२०२२ को उत्कृष्ट फिल्म’का लागि फिप्रेक्सी ग्रान्ड प्रिक्स अवार्ड पाएको छ।
अन्य चार फिल्मलाई पछि पार्दै यस फिल्मले फिप्रेक्सी अवार्ड जितेको हो। फाइनलमा ‘ड्राइभ माई कार’सँगै थोमस एन्डर्सनको ‘लिकोराइस पिज्जा’, नी क्याम्पियनको ‘द पावर अफ द डग’, रुबेन आस्टलन्डको ‘ट्रयांगल अफ स्याडनेस’ र जोकिम ट्रायरको ‘द वर्स्ट पर्सन इन द वर्ल्ड’ भिडेका थिए।
गतवर्ष ‘ड्राइभ माई कार’को प्रिमियर कान्समा गरिएको थियो। फिल्मले उत्कृष्ट पटकथासँगै फिप्रेस्की पनि जितेको थियो। साथै, यस फिल्मले यसवर्षको अस्करमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड जितेको थियो।
७०औँ सान सेबास्टियन इन्टरनेशनल फिल्म फेस्टिभलको अवसरमा आगामी सेप्टेम्बर १६ मा फिप्रेक्सी ग्रान्ड पिक्स प्रदान गरिनेछ। साथै उक्त समारोहमा ‘ड्राइभ माई कार’को विशेष प्रदर्शन समेत गरिनेछ।
यो फिल्म जापनी लेखक हारुकी मुराकामीको पुस्तक ‘ड्राइभ माई कार’मा आधारित छ। फिल्ममा हिडेतोसी निशीजिमा, टोको मिउरा, रेइका किरिशीमा लगायतका कलाकारको अभिनय रहेको छ।