PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

घर्कियो कार्यदललाई दिइएको समयसीमा, मापदण्डमै अल्झियो गठबन्धन



प्रकाश भण्डारी

घर्कियो कार्यदललाई दिइएको समयसीमा, मापदण्डमै अल्झियो गठबन्धन

काठमाडौं : सत्ता गठबन्धनले भदौ पहिलो सातासम्म टिकट बाँडफाँट टुंग्याइसक्ने तय गरेको थियो। साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेर साउन अन्तिमसम्म मापदण्ड र भदौ पहिला सातासम्म टिकट बाँडफाँट टुंग्याउने समयसीमा तय भएपनि भदौ ७ गतेसम्म कार्यदल टुंगोमा पुगेको छैन।

गठबन्धनमा हालसम्म मापदण्डकै बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्। मापदण्डकै बारेमा छलफल गर्न सोमवार गठबन्धनको बैठक बसेको थियो। तर, बैठक निचोडमा पुग्न सकेन।

अर्को बैठक आज ३ बजेका लागि बोलाइएको छ। सोमवारको बैठकपछि कार्यदलका सदस्य तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धन निचोडमा नपुगेको बताएका थिए।

के बनाउने मापदण्ड?

कार्यदलले शनिवार सत्ता गठबन्धनका नेताहरुलाई कार्यदलमा भएको छलफलबारे जानकारी गराएको थियो। गठबन्धनका नेताहरुले चाडो सहमतिमा पुग्न कार्यदललाई निर्देशन दिएका थिए।

कार्यदलका सदस्य तथा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदलले पाएकाले सोबारेमा पनि गृहकार्य भइरहेको जानकारी दिएका छन्। गठबन्धनको पहिलो बैठक साउन २३ गते बसेको थियो।

उक्त बैठकमै मापदण्डका बारेमा सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए। तर, साउन २६, साउन २९, भदौ १ र भदौ ४ गते गठबन्धनका नेतासहित बसेको कार्यदलको बैठकमा मापदण्डबारे ठोस् सहमति हुन सकेन।

२०७४ सालको चुनावमा गठबन्धनका तर्फबाट जुन दलले जितेको हो त्यसलाई दिएर बाँकी सिटलाई मात्रै भागबण्डा गर्ने प्रस्ताव कार्यदलमा छ। तर, त्यतिबेला एकीकृत समाजवादी पार्टी गठन भएको थिएन।

एकीकृत समाजवादीको हकमा उक्त मापदण्ड लागू नहुने कार्यदलका सदस्य बताउछन्। कार्यदलका सदस्य हिमलाल पुरीले मापदण्डबारे सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरु नै छलफलमा जुटिरहेको बताए।

‘मापदण्ड टुंगिएको छैन। पहिला मापदण्ड टुंग्याउने भन्ने थियो,’ उनले भने।

हेभिवेट नेताकै ठाउँमा सकस

गठबन्धनले कार्यदल गठन गरी शीर्ष नेताहरुलाई जिताउने गरेर भागबण्डा गर्ने तयारी गरेको छ। तर, शीर्ष नेताहरुलाई टिकट दिँदा अर्को दलको नेतालाई व्यवस्थापन गर्न सकस भइरहेको कार्यदल सदस्यहरुले बताएका छन्।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभाको र ३३० प्रदेशसभाको टिकटमा भागबण्डा गर्नुपर्ने छ। आफ्नो आधार क्षेत्रमा गठबन्धनका नेताहरुले नछोड्ने अडान लिएपछि भागबण्डा झन पेचिलो बनेको हो।

सत्ता गठबन्धनका नेताहरुले जतिसक्दो चाडो भागबण्डा टुंग्याउनुपर्ने भन्दै शीर्ष नेताहरुलाई दबाब दिइरहेका छन्। स्थानीय तहमा पनि मनोनयनको दिन बैशाख ११ गते बिहान मात्रै गठबन्धनले अन्तिम टुंगो लगाएको थियो।

टिकट बाँडफाँट समयमा नहुँदा सोचेअनुसारको नतिजा नआएको सत्ता गठबन्धन दलका नेताहरु बताउछन्। नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जयन्ती राईले अब धेरै वार्ता गरेर समय खेर फाल्न नहुने बताइन।

‘स्थानीय तहमा हामी कयौँ पटक बैठक बसेका थियौँ। टिकटको कुरा मिलाउन ढिलाइ भएपछि गठबन्धनलाई क्षति भयो। यसपटक समयमै मिलाएर जानुपर्छ। अब हामी धेरै वार्ता पनि बस्न हुँदैन,’ राईले भनिन्।

माओवादी केन्द्र र समाजवादी मिल्दा के हुन्छ?

माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा २०७४ को नतिजा अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीको शक्ति कांग्रेसको भन्दा धेरै हुन्छ। चुनाव अघि नै माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण भए सो दल गठबन्धनको सबैभन्दा ठूलो दल हुने छ।

माओवादीको ४८, एकीकृत समाजवादीको २३ जना प्रतिनिधिसभा सदस्य गरेर एकीकण भएको अवस्थामा उक्त पार्टीको सांसद संख्या ७१ पुग्ने छ। कांग्रेससँग हाल ६२ जना सांसद छन्।

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै घोषणा पत्रमा चुनावमा जाने र सकेसम्म चुनावअघि नै पार्टी एकता गर्न एकता संयोजन समिति बनाउन सहमत भइसकेका छन्। सोमवार पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच वार्ता भएको थियो।

भागबण्डाको विषय माओवादी केन्द्र र एकीकृत समाजवादी एकताले पनि पेचिलो बनिरहेको छ। अर्कोतिर माओवादी केन्द्रमै आउनेगरी नेपाल समाजवादी पार्टी (नेसपाका) अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले माओवादीको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडामा उम्मेदवार हुने तय भइसकेको छ।

अर्कोतिर प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)लाई पनि सहभागी गराउने गृहकार्य गरिरहेका छन्। लोसपा पनि सहभागी भए भागबण्डा कसरी गर्ने भन्नेबारेमा पनि कार्यदललाई अप्ठेरो परेको हो। त्यसैले केही समय अझै कार्यदललाई भागबण्डा टुंग्याउन समय लाग्ने नेताहरुले बताएका छन्।

आफ्नै चुनाव चिन्हमा चुनाव लड्छौँ : नेपाल

एकताका लागि दुई पार्टीबिच गृहकार्य भइरहेको भए पनि नेपालले भने तत्काल एकता नहुने प्रष्टिकरण दिएका छन्। मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि भने दुई पार्टीबिच एकता अघि बढ्ने नेपालले बताए।

मंगलवार संघीय संसद बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले अहिले एकता संयोजन समिति बनाउने तयारी भएको जानकारी दिए। उनले अरु कम्युनिस्ट पार्टीसँग पनि एकता हुने बताए।

‘चुनावलाई केन्द्रबिन्दुमा राखेका छौँ। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर जानुपर्छ भन्ने सोच बनाएका छौँ। त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गर्छौँ,’ नेपालको भनाइ छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टी एकतामा गौतम र भट्टराई पनि आउने बताइन्छ। तर, संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) भने उक्त एकताका लागि तयार नभएको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले बताएका छन्।

स्थानीय तह निर्वाचनको नतिजा लगत्तै एमालेसहितको वाम एकताका लागि गृहकार्य भएको थियो। तर, उक्त छलफल सफल हुन सकेन। त्यसैले एमाले बाहेकका कम्युनिस्ट पार्टीलाई एकता गर्ने तयारीमा प्रचण्ड-नेपाल लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell