PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

चुनावअघि माओवादी केन्द्रसँग एकता सम्भव नभएको माधव नेपालको जिकिर, भने : आफ्नै चिन्हमा गठबन्धनबाट चुनाव लड्छौँ



पहिलोपोस्ट

चुनावअघि माओवादी केन्द्रसँग एकता सम्भव नभएको माधव नेपालको जिकिर, भने : आफ्नै चिन्हमा गठबन्धनबाट चुनाव लड्छौँ
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग चुनावअघि एकता सम्भव नभएको बताएका छन्। तर, मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि भने दुई पार्टीबिच एकता अघि बढ्ने नेपालले बताए।

मंगलवार संघीय संसद् बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले अहिले एकता संयोजन समिति बनाउने तयारी भएको जानकारी दिए। उनले अरु कम्युनिस्ट पार्टीसँग पनि एकता हुने बताए।

‘चुनावलाई केन्द्रबिन्दुमा राखेका छौँ। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर जानुपर्छ भन्ने सोच बनाएका छौँ। त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गर्छौ,’ नेपालको भनाइ छ।

उनले माओवादी केन्द्रसँग एकताका लागि भइरहेको छलफललाई प्रारम्भिक भएको बताएका छन्। चुनावमा गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव चिन्हमा जाने नेपालको भनाइ छ।

‘अहिले नेकपा माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भनेर प्रारम्भिक चरणको कुराकानी थालेका छौँ। एकताको कुरा चुनावअघि सम्भव छैन। आ-आफ्नो पार्टी र चुनाव चिन्हका आधारमा चुनाव लडिन्छ,’ उनले भने।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा र एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टी एकताका बारेमा छलफल भइसेको छ। माओवादी केन्द्रका प्रचण्ड र नेपालबिच सोमवार पनि पार्टी एकताबारे छलफल भएको थियो।

दुवै दलका तर्फबाट ५/५ जना सदस्य रहने कार्यदल बनाउने बारेमा पनि दुवै दल सहमत भएको छलफलमा सहभागी नेताले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell