PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुदूरपश्चिममा बन्द गराउँदै हिँडेका १५ जना पक्राउ, यस्तो रह्यो बन्दको प्रभाव



एम बम

सुदूरपश्चिममा बन्द गराउँदै हिँडेका १५ जना पक्राउ, यस्तो रह्यो बन्दको प्रभाव

कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले आह्वान गरेको आम हडतालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बन्यो। तराई भन्दा बन्दको प्रभाव पहाड पहाडी जिल्लाहरूमा बढी देखिएको छ।

प्रदेश भरी नै बस टिकट काउन्टर बन्द अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। लामो तथा छोटो दूरीका सवारी साधन पूर्ण रूपमा चल्न सकेनन्।

कैलाली र कञ्चनपुरमा भने अटो रिक्सा तथा मोटरसाइकल फाट्टफुट्ट चलिरहेका छन्। मंगलवार बिहानैदेखि प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

बन्द गराउँदै हिँडेका १५ जना प्रहरी नियन्त्रणमा

बिहानै बन्द गराउँदै हिँडेका १५ जनालाई प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ। सबैभन्दा बढी बाजुरामा ११ जना पक्राउ परेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका १० जना नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। बन्दको आह्वान गर्दै हिँडेका ३ जनालाई सदरमुकाम मार्तडी र ७ जनालाई कोल्टी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउँदै हिँडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भूपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली लगायत ३ जना सदरमुकाम मार्तडी बाट पक्राउ परेका हुन। अन्य ७ जनालाई भने कोल्टी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए।

पक्राउ पर्नेमा नवीन विक, विर्सिङ विक, सिरसिर शाही ठकुरी, सङ्गीत चदारा, विकास कडारा र प्रकाश चदारालगायत छन्। उनीहरूलाई जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट नियन्त्रणमा लिइएको हो।

यता कञ्चनपुरमा बन्द गराउँदै हिँडेका ३ जना नेता पक्राउ परेका छन्। बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै, डोटीको दिपायलबाट नेकपाका दुई नेता पक्राउ परेका छन्। मंगलवार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ गरिएको हो।

उनीहरूलाई बिना कारण पक्राउ गरिएको नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले बताए। बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने धामीले बताए।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने, असमान सन्धि सम्झौता खारेज, महँगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell